-गायत्री ढकाल
मैले पनि केही समय अगाडि सेन्ट लरेन्स कलेजमा ज्ञान बाँड्ने अवसर पाएको थिएँ । त्यही शिक्षा मन्दिरबाट केही सिक्ने अवसर पाएको थिएँ । आफ्ना नानीहरुलाई अध्ययनको थलो बनाएको थिएँ र सन्तुष्ट पनि थिएँ । हालै यो कलेज सम्बन्धमा एउटा घटनापछि मेरो मनले अलि धेरै अध्ययन गर्न खोज्यो ।
यस कलेजलाई यहाँसम्म पुर्याउन गरेका सङ्घर्षको कथा पनि अध्ययन गर्ने अवसर पाएँ । आज मिडयामा देखिएको भिडियोलाई हेर्दा दुःख लाग्यो । सङ् गसङ्गै केही खुशी पनि लाग्यो । जे होस यो घटनाले धेरैमा चेतना बाढ्न सफल भएको छ । आरोपितलाइ कानुनी दायरामा पुर्याएर पीडित पक्षको घाउमा मलम लगाउन सफल भएको छ । कुनै घटना भएपनि बाहिर नआउन्जेल सबै चोखा नै हुन्छन् । प्राय धेरैजसो ठाउँमा यौन हिंसाका सामान्य घटनाहरु भएकै हुन्छन् । हिंसा कसरी भएको छ भन्ने कुरामा पनि भर पर्छ । मैले यसो भनि रहँदा कसैलाई दोष दिइरहेकी छैन । त्यो मेरो काम पनि होइन । चाहे जसरी होस हिंसा हिंसा नै हो । जसले हिंसा गर्छ उसले कानुनी सजाय पाउनुपर्छ त्यसमा दुइमत छैन ।

हिंसा गर्नेका निहुँले अर्कोले पाउने सजाय पनि कम पिडादायक हुँदैन । कुनै पनि घटनामा मानिसहरुको सेन्टिमेन्ट पीडित पक्षमाथि हुन्छ, हुनु पनि पर्छ तर पीडितले पनि सही सत्य भनेको हुनुपर्छ । मिडियामा बोल्दा निर्दोषलाई लगाएको लान्छना भने साँच्चिकै सम्बन्धित पक्षलाई सहन गाह्रो हुन्छ । त्यसैले पनि मेरो मनमा अध्ययनको भोक जागेको हो । यस कलेजकी पीडित नानीले कलेजको प्रशासनले फी मिनाहा गरिदिन्छु यो घटना बाहिर नलानु भनेर भनेको कुरा झुट बोलेको सुन्दा विद्यार्थीमा पनि नैतिकता हराएको आभास भएको छ । हुन त किशोर अवस्थाका कलिला यी नानीहरुले मिडियामा आवेसमा बोल्दा नबुझेर या भुलेर भनेको पनि हुनसक्छ । तर यसले गर्दा अरु सुन्ने र हेर्नेले कलेज प्रति नकारात्मक सोच रहनसक्छ ।आखिर सत्य सत्य नै हुन्छ । नखएको बिष कसैलाई नलागोस, लाग्दैन पनि भन्ने मेरो मान्यता हो ।
दोषीले पनि दोष गरेजतिमात्रै सजाय पायोस । यौन हिंसाका कुरा कति सत्य होलान कति असत्य होलान त्यो अनुसन्धान कर्ताको काम हो यसमा मलाई कुनै बहस गर्नु छैन । हुन त पीडितकी आमाले नै कलेज फी मिनाहको कुरा प्रसाशनले भनेको होइन दोषी शिक्षकले भनेको हो भनेर भनिसक्नु भएको छ । तर यो सारा मिडयामा सुन्नेले त बुझेको छैनन नि । यो कुरा त्यसै भनिरहेकी छैन । जो कोहिलाई सन्देह लाग्न सक्छ । सन्देह लाग्नेले मसङ्ग बहस गर्न आउँदा हुन्छ । किनभने नभनेको कुरा फलानाले भन्यो भन्नु अरुले त्यस्तै बुझ्नु चै राम्रो भएन । तर बुझ्नेले त जे सुन्यो त्यही बुझ्छ तर वास्तविकता चाँही अर्कै हुनु दुःखदायी कुरा हो ।
हुन त नकारात्मक सोच राख्नेहरुले सिधा हिडेको पनि बाङ्गो देख्छ भन्छन् । सबैलाई सकारात्मक बनाउन त भगवानले पनि नसक्लान । त्यसैले यो मेरो लेख स्वच्छ छवि भएका सकारात्मक चिन्तन हुनेहरुका लागि हो । गलत बोलेको कुरा सहेर बस्नु पनि र नबोल्नु पनि पाप हो भनेर म यो बिचार सार्वजनिक गर्दैछु ।
लामो समयदेखि बालबालिकाको भविष्य बनाउन दिनमा १८ घन्टा खटेर तालु खुइलाईसकेका विद्वानहरुको मूल्याकंन यो समाजले पक्कै पनि गर्छ भन्ने विश्वास मैले लिएकी छु । हु त आफ्नै मन, वचन र कर्मले परिवारलाई सकारात्मक रुपमा जितेको मान्छेले कहिले हार्दैन । यस पाटोको मनोविज्ञानलाई पनि कसरी लिने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
हाम्रा छोरी चेलीहरु हाम्रा घरका सुन्दर फुल हुन् । उनीहरुको संरक्षणमा घर, परिवार, समाज र राष्ट्र सबै लाग्नुपर्छ । यसो भनिरहँदा मैले महिलाको मात्र पक्ष पोषण गरेको भने होईन । आजकाल पुरुषहरु पनि धेरै पीडित छन् । चाहे पुरुष हुन् चाहे महिला हुन् हिंसा हिंसा नै हो । गल्ति गर्नेले सजाय पाउनु पर्छ ।
जुन औंलामा बिष लाग्छ त्यै औंला झर्छ भन्ने नेपाली उखान चरित्रार्थ भएको छ । तर औंला झर्दा केही दिन हत्केलाले पनि बिनाकारण दुःख पायो यो दुःखदायी छ । संस्थाको निर्दोष निर्जीव बस्तुको तोडफोड भयो । बाहिरी मान्छेले चलखेल गर्ने ठाँउ पाए । जे जसरी भएपनि संस्थाको नाम बिनापैसा नेपालभरी मिडियाले फैलायो त्यसको लागि मिडियालाई पनि धन्यवाद भन्न चाहन्छु । जे होस जस जसले यो घटनालाई बाहिर ल्याएर कानुनी प्रक्रिया अगाडि बढाउँनु भयो त्यसमा संस्था र पीडित ब्यक्तिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
जसले चुनौतीको सामना गर्छ त्यसले मात्र समाजको मुहार फेर्न सक्छ । चुनौतीसङ्गै अवसर पनि आएको हुन्छ । हिम्मत साहस भएको व्यक्तिले कहिल्यै पछि पर्नु पर्दैन । आज सेन्ट लरेन्स कलेजले चुनौतीको सामना गरेको छ । जसलाई विस्वास गरेर कलेजको कोअडिनेटर बनाएको थियो, उसैबाट कलेजलाई आँखामा छारो हालेर आफै बदनामी बनेको छ । जे होस यो घटनाले यौन हिंसाको विरुद्धमा राम्रो सन्देश छरेको छ ।
अब कलेज कलिला नानीबाबुहरुको भविष्य बनाउन अझ नयाँ गतिका साथ अगाडि बढनु पर्छ । शिक्षकलाइ थप मोटिभेसन दिदैँ अभिभावकको सल्लाह र सुझाव ग्रहण गर्दै र प्यारा भाइ बहिनीहरुलाई प्रेरणा र हौसला दिँदै अब कलेज अझ अब्बल र सुसंस्कृत बन्न सक्छ । लामो समयको अनुभव र आजको आवश्यकतालाई हेरेर भोलीको दिनमा योजना बनाई कलेजले गर्नु पर्ने कार्य, समाजको इच्छा र विद्यार्र्थी र अभिभावकको माया समेट्दै अगाडि बढ्न पर्छ ।
त्यति मात्र नभई पाँच भाइमा अझै घनिष्ठता बढनु पर्छ । एकले अर्कोलाई दुःख सुखमा साथै दिएर पाँच पाण्डव बन्नु पर्छ । तपाईंहरुको आफ्नो मार्ग अझ फराकिलो भएको छ, त्यसलाई गन्तव्यमा पुर्याउनु पर्छ । निराश होईन अब उत्साहित भएर सबैलाई हँसाउनु पर्छ । नैतिकवान , चरित्रवान, कर्मशील र मिहेनती बनाएर हाम्रा छोराछोरी भाइबहिनीलाई भविष्यको तारा बनाउनु पर्छ । यो मेरो नितान्त आफ्नो ब्यक्तिगत विचार हो ।
प्रतिक्रिया दिनुहोस्