विवेकशील नेपालीका संस्थापक नेता तथा अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठ्ने भएका छन्।
अघिल्लो स्थानीय निर्वाचनमा यस क्षेत्रबाट विवेकशील साझाका तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र उठेका थिए। उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए।
‘इनफ इज इनफ’ को अभियान्ता समेत रहेका बमले सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन्। उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘लुटतन्त्र विरुद्ध निर्णायक लडाई लड्न मुलुकभर आम युवा साथीहरूलाई समेत अपिल गर्दै यही वर्ष सम्पन्न हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।’
उनले १७ वर्ष संघर्ष गरेर अब सदनमा पुगेर नागरिकको आवाज सुनिने थलो बनाउन चाहेको बताएका छन्। ‘अब नागरिकका यी प्रश्न सोध्ने स्थान बदल्न चाहन्छु। म सडकबाट मात्र होइन सदनबाट नागरिकलाई साथ दिन चाहन्छु। सडकमा १७ वर्ष सङ्घर्ष गरेर अब सदनमा पुगेर सदनलाई नागरिकहरूको आवाज सुनिने थलो बनाउन चाहन्छु,’ उनले भनेका छन्, ‘म सबै निर्वाचन क्षेत्रहरूमा आ–आफ्नो ठाउँबाट लुटतन्त्रको प्रतिरोध गर्न युवाहरूलाई उम्मेदवारी दिन र नयाँ राजनीतिको जग बसाल्न नेतृत्व लिन पनि अपिल गर्दछु।’
प्रतिक्रिया दिनुहोस्