प्रचण्ड र नेपाललाई एमालेले प्रधानमन्त्रीको अफर गरेको छैन: पूर्वमन्त्री विश्वकर्मा

नयाँ पोस्ट
नयाँ पोस्ट २१ जेष्ठ २०७९, शनिबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दाबी गरेका छन् । नेता विश्वकर्माले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेले आफूहरूलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएको पनि बताएका हुन् ।

७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेभित्र प्रधानमन्त्री कसैलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न दाहाल र नेपालले सो हल्ला फिँजाएको बताए ।

स्थानीय तह निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षा अनुसार नतिजा आउन नसकेको भन्दै नेता विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनमा भने पार्टीको सिंगो शक्तिलाई परिचालन गरेर अघि बढ्ने बताए । उनले भने, ‘स्थानीय तह निर्वाचनमा हामीले अपेक्षा गरे अनुसारको परिणाम आएन । अब समस्या बाहिर मात्रै देखाउने काम छैन । यसको गम्भीर समीक्षा गरेर आगामी संघ र प्रदेशको निर्वाचनको तयारीमा हामी जुट्छौँ । पार्टीले बाहिर चर्चा भएजस्तो कसैलाई पनि प्रधानमन्त्री बनाउने भनेर छलफल गरेको छैन । तर, गठबन्धनमा आफ्नो हातमाथि पार्न प्रचण्ड माधव नेपालले त्यस्तो हल्ला चलाइरहेका छन् । त्यो होइन । हामी आफ्नै शक्ति र सामर्थ्य परिचालन गरेर आगामी निर्वाचनको तयारी गर्छौँ ।’ नेता विश्वकर्माले पार्टी भित्र असन्तुष्ट नेता, कार्यकर्ताको मागलाई सम्बोधन गरेर आफूहरू संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्