नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनको सातै वटा प्रदेशको रिपोर्ट लिनका लागि सात जना नेताहरुलाई जिम्मा दिएको छ।
शनिबार काठमाडौंमा बसेको समाजवादीको सचिवालयको २६औं बैठकले तल्ला कमिटीबाट स्थानीय तहको निर्वाचनको रिपोर्ट लिनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरुलाई जिम्मा दिने निर्णय गरेको हो।
समाजवादीका उपमहासचिव डा। गंगालाल तुलाधरले प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा। विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा महासचिव बेदुराम भुसाललाई रिपोर्ट लिनका जिम्मा दिइएको र ५ दिनभित्र रिपोर्ट पेस गर्न भनिएको जानकारी दिए।
रिपोर्ट आइसकेपछि एकीकृत रिपोर्ट तयारी गरि पार्टीको विभिन्न तहमा छलफल गरिने उनले बताए। उनले संगठनात्मक आधार हुँदाहुँदै पनि गठबन्धनलाई विश्वास गर्दा धोका भएको हो कि भन्ने आशंका पैदा भएकाले निर्वाचनको समीक्षा गर्ने निर्णय भएको भन्दै समीक्षा पछि थप निष्कर्ष निकालिने बताए।
त्यस्तै बैठकपछि समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहमा गठबन्धनबीच भएको चुनावी तालमेलमा सन्तुष्ट हुने आधार नरहेको बताए। उनले पार्टीभित्र यसको थप समीक्षा हुने धारणा राखे।
बैठक आइतबार पनि जारी रहने र निर्वाचनको समीक्षा, गठबन्धनभित्र समाजवादी र अरु पार्टीको भूमिका तथा आगामी दिनको कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्