प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ ।
नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो ।
‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने सन्र्दभमा सहमति भएको छ’ कोइरालाले भने,‘एकपटक सदनमा छलफल हुनुपर्छ, नामको विषयमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने निचोडमा छौँ ।’
उनले नाम के राख्ने भन्ने सन्र्दभमा भने सदनबाटै पारित हुने बताए ।
कांग्रेस र एमालेको छलफलले दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएको एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक समेत रहेका हिक्मत कार्कीले बताए ।
उनका अनुसार नामकरणको टुंगो लगाउन कांग्रेस र एमाले सहमत भएकाले यसै अधिवेशनले नामकरण टुंगो लगाउनेछ ।
उनले भने, ‘संसदभित्रका सबै राजनीतिक दलहरूसँग र सरकारसँग पनि छलफल गर्न तयार छौँ, अहिले नाम टुंगो लगाउन कांग्रेस र एमाले सहमत भएको हो ।’
यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न भन्दै एमालेले कार्यदल गठन गरेको थियो । कार्यदलमा कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् । कार्की पूर्व आन्तरिक तथा कानूनमन्त्री समेत हुन् ।
प्रदेशसभामा कायम रहेका ९३ मध्ये नेकपा ९माओवादी केन्द्र० का टंक आङबुहाङ एमालेमा प्रवेश गरेपछि माओवादीको कारबाहीको कारण उक्त पद रिक्त छ । यस्तै, स्थानीय तह निर्वाचनमा भाग लिन काजीमान कागते र गोपाल बुढाथोकीले राजीनामा दिएका छन् ।
९३ सांसद रहेको प्रदेश १ मा अहिले ९० मध्ये नामकरणका लागि ६१ सांसदको मत चाहिन्छ । अहिले एमालेका ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक सांसद छन् ।
नेपालको संविधानअनुसार प्रदेशसभाको राजधानी र नामकरणका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्