एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
विनियोजन विधेयकमाथिको छलफल का बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको आलोचना गर्दै उनको राजीनामा माग सहित छानबिन समिति बनाउन माग गरेका हुन् ।
भट्टराईले संसद्मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गरे। करका दर परिवर्तन गर्ने जस्तो महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर–व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको उनको आरोप छ ।
यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोप प्रतिनिधिसभामा रोष्टमबाट पुनः खण्डन गरेका थिए । बजेट तयारीको सन्दर्भमा मध्यरात गैर–व्यक्ति बोलाएर बजेट तलमाथि गरिएको भन्ने आरोप निराधार र कपोलकल्पित बाहेक केही नभएको उनको भनाइ थियो ।
बजेट तयारीको नियम तथा परम्परा अनुसार नै अर्थ मन्त्रालयले सचिव र तोकिएको व्यक्तिहरूबाटै तयार भएको तर कोही पनि गैर–व्यक्तिबाट तयार नगरिएको उनको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस्