एसपीपीमा सहभागी हुन नेपालले पठाएको पत्र सार्वजनिक (पत्रसहित)

नयाँ पोस्ट
नयाँ पोस्ट २ असार २०७९, बिहीबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नेपालका तर्फबाट पठाइएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई सम्बोधन गर्दै पठाएको पत्र सार्वजनिक भएको हो ।


उक्त पत्र सन् २०१५ अक्टोबर २७ तारिख अर्थात् २०७२ कात्तिक १० मा पठाएको देखिन्छ । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार थियो । मन्त्रिपरिषद् विस्तार भइनसकेकाले रक्षा मन्त्रालय समेत ओलीले नै सम्हालेका थिए । त्यसको ९ दिनपछि कात्तिक १९ मा भीम रावल उपप्रधान तथा रक्षामन्त्री बनेका थिए ।

तत्कालीन प्रधान सेनापति क्षेत्रीले सरकारकै अनुमतिमा पत्राचार गरेको पहिलो बुँदामा नै उल्लेख गरेका छन् । बिहीवार संसदमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारका पालामा एसपीपीका लागि पत्राचार भएको पुष्टि गर्न चुनौती दिएका थिए । त्यसलगत्तै पत्र सार्वजनिक भएको हो ।

के छ तीन बुँदे पत्रमा :

१। नेपाल सरकारले आधिकारिकता दिएबमोजिम निकट भविष्यमा नेपालका लागि नेसनल गार्ड स्टेट पार्टनरशिप प्रोग्राम स्थापना गर्न हामीले औपचारिक रूपमा अनुरोध गरेका छौं ।

२। यस कार्यक्रममार्फत सैन्य सीप तथा अनुभव आदानप्रदान गर्न, पार्टनरशिप क्षमता प्रवर्धन गर्न र थप पारस्परिक सुरक्षा सहकार्य गर्नका लागि दीर्घकालीन तथा दिगो र पारस्परिक हितकारी सुरक्षा सम्बन्धको प्रवर्धन गर्ने दृढ विश्वास लिइएको छ । विपत तयारी तथा संकट व्यवस्थापन, उड्डयन बन्दोबस्ती, मर्मतसम्भार तथा सुरक्षा आदानप्रदान, महत्त्वपूर्ण संरचना तथा प्राकृतिक स्रोत संरक्षण, व्यावसायिकीकरण तथा सैन्य अधिकृत विकास लगायतका पारस्परिक चासोका क्षेत्रमा यस कार्यक्रमले सहयोग गर्न सक्ने कुरालाई उच्च कोटिको मूल्यांकन गरिएको छ ।

३। नेपाली सेना काठमाडौंस्थित अमेरिकी राजदूतावासलाई यस कार्यक्रममा जोडिने विषयमा पुनः एकपटक प्रतिबद्धता दोहोर्‍याउँछ ।

हेर्नुहोस्, पत्र :

प्रतिक्रिया दिनुहोस्