एसियाली हाप्किडो प्रतिस्पर्धामा भाग लिन विजयाकुमारी वाइवा उज्वेकिस्तान जाँदै

नयाँ पोस्ट
नयाँ पोस्ट १३ असार २०७९, सोमबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

उज्बेकिस्तानको फर्गानामा हुन लागेको एसियाली हाप्किडो च्याम्पियनसिप प्रतियोगिता तथा अन्तर्राष्ट्रिय मास्टर सेमिनार २०२२ मा सहभागी हुन नेपाली प्रतिस्पर्धी खेलाडी सहितको टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्दैछ । २९ जुन देखि ३ जुलाई सम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाल मार्सल आर्ट हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली उज्जेकिस्तान प्रस्थान गर्न लागेको हाप्किडो राष्ट्रिय खेलाडी विजयाकुमारी वाइवाले जानकारी दिइन् ।
सो प्रतियोगितामा विजया कुमारी वाइवा, भुवन बुढा मगर, प्रवीण गुरुङ, कृती गिरि र गुमान घर्ती मगरले सहभागिता जनाउँदैछन् । सो प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो सङ्घकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।
काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर ३ कि स्थायी बासिन्दा समेत रहेकी हाप्किडो खेलाडी वाइवाले ५२ देखि ५५ केजी उमेर समूहमा प्रतिस्पर्धा गर्दैछिन् । कुन देशसँग प्रतिस्पर्धा हुने भन्ने कुरा कार्यक्रम हुने देश उज्बेकिस्तानमा निर्धारण हुने वाइबाले बताइन् । जुलाई १ र २ तारिखमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ । हाप्किडो फेडेरेशन उज्बेकिस्तानको निमन्त्रणामा सहभागिता जनाउन नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गर्न लागेको हो । खेलाडीहरु मंगलबार बिहान १० बजेको फ्लाइटमा उज्बेकिस्तान प्रस्थान गर्दैछन् भने बिहान ७ बजे विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्