चावाहिलको सेन्ट लरेन्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

नयाँ पोस्ट
नयाँ पोस्ट १८ असार २०७९, शनिबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

काठमाडौंको चावाहिलस्थित सेन्ट लरेन्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार लायन्स क्लब अफ काठमाडौं युनाइटेड ग्रुपको आयोजना र सेन्ट लरेन्स कलेजको सहयोगमा भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ ।
यूनाइटेट ग्रुपका सदस्यहरु, कलेजका शिक्षक र विद्यार्थी तथा सामाजिक अभियन्ताहरुले रक्तदान गरेका थिए । प्रत्येक बर्ष अंग्रेजी महिनाको जुलाई १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय सेवा दिवसका अवसर पारेर रक्तदान कार्यक्रम गरिएको सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले जानकारी दिए ।
कलेजले बर्षभरीमा ४ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कलेजको सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो ।
कलेजका अध्यक्ष दंगालले भने–‘यूवाहरुलाई रक्तदानको अभियानमा सहभागी गराउने, कलेजमा पढ्ने बिद्यार्थीहरुलाई चार–चार महिनामा खेर जाने रगत कसैको ज्यान बचाउनका लागि दान गर्न उत्प्रेरित गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो । यस्तो कार्यक्रमले रक्तदान गर्नेहरुलाई पनि बानी पार्छ र रगत अभावमा बिरामीको अकालमा मृत्यु हुनबाट जोगाउन सकिन्छ भनेर हामीले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएका छौँ ।’
कलेजले गर्ने विभिन्न सामाजिक उत्तरदायित्वको काम मध्ये रक्तदान पनि एक रहेको र बेला बेला अन्य विभिन्न सामाजिक काममा सेन्ट लरेन्स कलेज सरिक हुने उनले बताए । रक्तदानपछि रक्तदाताहरुलाई कलेजका अध्यक्ष दंगालले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्