निजगढ विमानस्थल निर्माण हुनेमा विश्वस्त रहन शीर्ष नेताहरुकाे आग्रह

नयाँ पोस्ट
नयाँ पोस्ट १८ असार २०७९, शनिबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका गरेका छन् । सो क्रममा शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय निर्माण हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । निर्माणाधिन विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ रहेको बताए । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताए । यो विमानस्थल समयमै निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्र्याकको औचित्य पुष्टि नहुने भएकोले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए । यस विमानस्थल निर्माणप्रति सरकारले देखाएको चासोलाई आफूले सकारात्मक रूपमा लिएको प्रचण्डले बताए ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको बताए । सर्वोच्चको पूर्ण पाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिनेमा नेपालले जोड दिए । त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादवले ५०, ६० वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै विमानस्थल निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए । यस विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा यादवले जोड दिएका थिए ।

सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गरेका हुन् । सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू निजगढ विमानस्थल क्षेत्रको अवलोकनका लागि निजगढ आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्