काठमाडौंको शंखरापुर नगरपालिका र साथी नेपालको सहकार्यमा १४ सय महिलाको निःशूल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । यही असार १७ गते शुक्रबार र १८ गते शनिबार शंखरापुर नगरपालिकाको लप्सेफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा सामुदायिक सेवा प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य सिविर आयोजना गरी महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको निःशूल्क परीक्षण गरिएको हो ।
शिविर बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । महिलाको स्वास्थ्य परिक्षणका क्रममा २५ जना महिलाको पाठेघरको अप्रेशन गर्नुपर्ने भेटिएको र उनीहरुको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा निःशूल्क अप्रेशन गरिने साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले जानकारी दिइन् । सो स्वास्थ्य शिविरमा विभिन्न प्रकारका स्त्रीरोगहरुको परिक्षण गरिएको, शिविरमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मीका लागि नगरपालिकाको तर्फबाट खाना–खाजाको व्यवस्थाका साथै यातायात खर्चको व्यवस्था गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
नगरबासीलाई सर्वसुलव ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाले नीति अनुरुप सो कार्यक्रम गरिएको श्रेष्ठले बताए । उनले स्वास्थ्य परिक्षण तथा उपचारको अवसर नपाएका नगरपालिका भित्रका महिलाहरु सो शिविरबाट लाभान्वित भएको बताए । प्रवक्ता श्रेष्ठले आगामी दिनमा पनि नगरबासीको स्वास्थ्य उपचारका लागि यस प्रकारका शिविरहरु सञ्चालन गर्दै जाने जानकारी दिए ।
सो स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार र परामर्श, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान, महिला सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचार, महिलाहरुको पाठेघरको भिडियो एक्स–रे, मधुमेह तथा रक्तचाप परीक्षण लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा डाक्टर नर्स लगायत १४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरेको साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले जानकारी दिइन् ।
गैर नाफामुलक संस्थाको रुपमा रहेको साथी नेपाल महिलाको प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा काम गर्ने संस्था रहेको बताइन् । उनले शंखरापुर नगरपालिकासँग मिलेर महिला स्वास्थ्यका लागि सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरेकी छिन् । स्वास्थ्य शिविर कार्यक्रममा शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, नगरप्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नंबर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ लगायतले अवलोकन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्