असार २०, काठमाडौं ।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले बाढीले क्षति पुर्याएको साँखु र भक्तपुर जोड्ने वेली बिज्रको निरिक्षण गरेका छन् ।
आइतबारको भारी बर्षापछि सालीनदीमा आएको बाढीले शंखरापुर वडा नंबर ६ को सिमाना पर्ने सितातिर्थ घाटछेउको सो पुलमा क्षति पुगेको छ ।
सोमबार नगरप्रमुख रमेश नापित र वडा नंबर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ सहितको टोलीले स्थलगत रुपमा क्षति पुगेको पुलको निरिक्षण गरेका हुन् ।

आइतबारको बाढीले साँखु चाँगुनारायण जोड्ने पुलका साथै त्यस वरपरका खेतहरूको पनि कटान गरेको छ । बाढीका कारण पुलको एकातर्फको पिलरमा बढी क्षति पुर्याएको छ भने पुलबाट यात्रा गर्न जोखिम बनेको छ ।
बाढीले क्षति पुर्याएको पुल तथा कटान गरेको खेतहरुको स्थलगत निरिक्षण पछि नगरप्रमुख नापितले प्राबिधिक र निर्माण ब्यावसायीलाई सो पुललाई थप भासिनबाट जोगाउन के के उपाय गर्न सकिन्छ तत्काल समाधान हुनेगरी काम गर्न निर्देशन दिएका छन् । द्रुत गतिमा काम गरेर सर्वसाधारणले छिटै पुलबाट खोला तर्ने अवस्था निर्माण गर्न उनको निर्देशन थियो ।
बर्षायाम भएकोले बाढी आइरहने भएकोले पुललाई थप क्षति हुनबाट बचाउन तत्काल काम सुरु गर्न निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि नगरपालिकाको तर्फबाट शंखरापुरको बागधारा र नाङ्लेमा सडक भासिएको स्थानको स्थलगत निरक्षण गर्दै तत्काल मर्मतको काम गर्न सडक डिभिजन कार्यालय काठमाडौंलाई पत्राचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्