अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले आज बुधवार राजीनामा दिएका हुन् । उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिएका हुन्। उनमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताए ।
प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्। उनले देश र नागरिकको हितमा बजेट ल्याएकै कारण अनैतिक काम गरेको आरोप लागेको दाबी गरे । नेकपा एमालेले विगतमा गरेको आफ्ना कर्तुत लुकाउन वा ओझेलमा पार्न अहिले नचाहिने हल्ला चलाएको शर्माले आरोप लगाए । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई आरोप लगाइएको भन्दै मन्त्री शर्माले छानबिन समितिलाई आफूले सहयोग गर्ने पनि बताए ।
उनले भने, ‘छानबिन समितिले आफ्नो काम गरोस्, बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन । स्थापित मान्यता र तोकिएका आधिकारिक व्यक्ति राखेर बजेट निर्माण गरिएको छ । करको दर हेरफेर गर्ने सन्दर्भमा मन्त्रायलका दुई जना सचिव र दुई जना महानिर्देशकलाई मार्ग निर्देशन दिएको हो, आम नागरिकको पक्षमा बजेट आएको विषय कसैलाई सैह्य भएको छैन ।’
उनले मन्त्रालयको सीसीटीभी फुटेजको विषयमा आफूलाई मुछ्नु दुःखद भएको बताए । एउटा मन्त्रीलाई सीसीटीभीको विषय कसरी थाहा हुन्छ भनेर उनले प्रश्न गरे ।
‘कुन सीसीटीभीको क्षमता कति छ र कहिले राखेको भन्ने विषय मन्त्रीलाई थाहा हुन्छ ? अरू मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको सीसीटीभीको बारेमा जानकारी छ ? यो संसद् भवनमा कति क्षमताका क्यामेरा छन्, माननीयहरूलाई थाहा छ त ?’ शर्माले भने ।
प्रतिक्रिया दिनुहोस्