एसियाली हाप्किडोमा स्वर्णपदक विजेता विजयाकुमारी वाइवा शंखरापुरमा सम्मानित

नयाँ पोस्ट
नयाँ पोस्ट २४ असार २०७९, शुक्रबार
पढ्न लाग्ने समय 3 मिनेट
Aa

उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि २ जुलाई सम्म आयोजना भएको एसियन हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालको तर्फबाट स्वर्ण पदक विजेता विजयाकुमारी वाइवालाई सम्मान गरिएको छ ।
शुक्रबार शंखरापुर नगरपालिका वडा नंबर ३ को कार्यालयले गरेको एक कार्यक्रमका बिच हाप्किडोकी राष्ट्रिय खेलाडी विजयाकुमारी वाइवालाई सम्मान गरिएको हो । शंखरापुरका नगरप्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नंबर ३ का अध्यक्ष सुर्य तामाङ लगायतले सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

सम्मानपछि आफ्नो धारणा राख्दै नगरप्रवक्ता श्रेष्ठले अन्तर्राष्ट्रिय जगतमा नेपालको झण्डा फह¥याउन सफल भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सफलता मिलोस भन्दै शुभकामना ब्यक्त गरे ।
उनले भने–‘खेलको माध्यमबाट पनि देशलाई चिनाउन सकिन्छ भन्ने उहाँले पुष्टि गर्नुभएको छ । यो सफलताका लागि उहाँले जुन मिहेनत गर्नुभयो, राष्ट्रको नाम चम्काउनुभयो, शंखरापुरलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभयो यसका लागि उहाँलाई धेरै धेरै बधाई छ । भविष्यमा पनि अझै प्रगति गर्न शुभकामना दिन चाहन्छु ।’
सो अवसरमा नगरप्रवक्ता श्रेष्ठले यो कार्यकालमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताउँदै विजया कुमारी वाइवा जस्तै धेरै खेलाडी उत्पादन गर्ने सोच शंखरापुर नगरपालिकाले बनाएको बताए । उनले भने–‘हामीले यो बर्षदेखि नै एउटा खेल एकेडेमी सञ्चालन गर्ने र विद्यालय स्तरबाटै खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याएका छौँ । रोजगारीका कार्यक्रम ल्याएका छौँ । यस्तै वडा नंबर ३ को जर्सिङपौवाको पूर्वाधार विकास, पर्यटन विकासका लागि पनि हामी लागिरहेका छौँ ।’
सम्मान कार्यक्रममा वडा नंबर ३ का अध्यक्ष सुर्य तामाङले आगामी दिनमा पनि अझै सफलता प्राप्त होस भन्दै शुभकामना ब्यक्त गरे ।
सम्मानपछि राष्ट्रिय खेलाडी वाइवाले सम्मानका लागि धन्यवाद दिँदै राष्ट्रकै गौरवका रुपमा रहेका खेलाडीहरूलाई यसरी नै प्रत्येक वडा, गाउँपालिका नगरपालिकाले साथ दिने हो भने पक्कै पनि नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च स्थानमा रहनेछ बताइन् ।

हाप्किडो राष्टिय खेलाडी विजया कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समुहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।
२९ जुन देखि ३ जुलाईसम्म भएको एसियाली हाप्किडो प्रतियोगितामा सहभागी हुन नेपाल मार्शल आर्ट हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली उज्जेकिस्तान गएको थियो ।
स्वर्णपदक बिजेता वाइबा गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौंको शंखरापुर नगरपालिकामा उपमेयरको उम्मेदवार थिइन । दोश्रो स्थान हासिल गर्दै उनले सम्मानजनक मत पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्