आगामी निर्वाचनमा अपाङ्गता भएकालाई उम्मेदवारको रुपमा अग्रसर बनाउन विभिन्न कार्यक्रम गरिने

नयाँ पोस्ट
नयाँ पोस्ट २९ श्रावण २०७९, आईतवार
पढ्न लाग्ने समय 4 मिनेट
Aa

साउन २८, काठमाडौं ।

अपाङ्गता भएकाहरुलाई आगामी निर्वाचनमा कसरी उम्मेदवारको रुपमा अगाडि बढाउने भन्नेबारेमा छलफल भएको छ । आइतबार काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवनपद्धति केन्द्र काठमाडौंले गरेको अन्तरसम्बन्ध निर्माणका लागि परामर्श कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई विभिन्न राजनीतिक दलबाट उम्मेदवारको रुपमा अघि बढाउन सशक्तिकरण गर्नेबारेमा छलफल भएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवनपद्धति केन्द्र काठमाडौंका महासचिव गणेश केसीले संविधानले दिएको व्यवस्था अनुसार अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित गराउनका लागि सचेत गराउन विभिन्न कार्यक्रम गर्न लागेको जानकारी दिए । अपाङ्गता भएका ब्यक्तिले पाउनुपर्ने राजनीतिक अधिकार दुरुपयोग रोक्न सचेतना र सशक्तिकरण गर्ने सम्बन्धी विभिन्न कार्यक्रम गर्न लागेको उनको भनाई थियो ।


महासचिव केसीले भने–‘संविधानको धारा ८४ मा प्रतिनिधि सभा सदस्यमा अपाङ्गता भएका व्यक्तिलाई पनि सहभागी गराउँनुपर्छ भनेको छ । यस्तै धारा ८६ ले पनि राष्ट्रिय सभामा अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्वको अधिकार सुनिश्चित गरेको छ । यस्तै धारा १७६ मा पनि प्रदेश सभा सदस्यमा अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ । संविधानले अपाङ्गता भएकाहरुलाई राजनीतिक अधिकारको व्यवस्था गरेपनि वास्तविक अपाङ्गता भएकाहरुले पाएका छैनन्, त्यो अधिकारको गैर अपाङ्गता भएका व्यक्तिहरुले दुरुपयोग गरिरहेका छन् । अपाङ्गता नभएका व्यक्तिले म अपाङ्ग हो भनेर त्यस्तो सुविधा लिइरहेका छन् । त्यस्तो अवस्था कम गर्ने र वास्तविक अपाङ्गता भएका ब्यक्तिहरु त्यहाँ जाउन भन्ने हाम्रो उदेश्य रहेको छ ।’
उनले अपाङ्गता भएका ब्यक्तिहरुलाई अगाडि बढाउन नीतिगत रुपमा कहाँ–कहाँ अप्ठेरो रहेको छ, घोषणापत्रमा उनीहरुका मुद्धा कसरी राख्ने, निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संसोधन गर्न लागेकोमा त्यहाँ अपाङ्गता भएकाहरुको अधिकारका लागि कसरी सुझाव दिन सकिन्छ भन्नेबारेमा संस्थाले कार्यक्रमहरु अघि बढाउन लागेको बताए ।
उनले संस्थाको तर्फबाट अपाङ्गता भएकाहरुको उम्मेदवारी समावेश गर्नका लागि विभिन्न राजनीतिक दलका नेताहरुसँग सानाठूला १० वटा भेटघाट गर्ने, निर्वाचनमा अपाङ्गता भएकाहरुलाई उम्मेदवारी दिन, क्षमता अभिबृद्धिका लागि ३ चरणमा पच्चिस–पच्चिस जनालाई गरेर ७५ जनालाई क्षमता अभिबृद्धी कार्यक्रम र सोही समूहबाट ५० जनालाई तालिम कार्यक्रम गर्न लागेको जानकारी दिए । सो तालिममा ५० प्रतिशत अपाङ्गता भएका महिलाको अनिवार्य सहभागिताका साथै दलित अपाङ्गता भएकाहरुको पनि प्रतिनिधित्व गराइने बताए ।

यस्तै संस्थाका अध्यक्ष टेकबहादुर गुरुङले राजनीतिक अधिकार प्राप्तिमा अपाङ्गता भएकाहरु पछि परेको बताउँदै सबै राजनीतिक दलमा आवद्ध अपाङ्गता भएकाहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले राजनीतिक नेतृत्वमा अपाङ्गता भएकाहरुलाई पु¥याउन क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु सहयोगी हुने उल्लेख गरे ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले समानुपातिक निर्वाचन प्रणालीमा अपाङ्गता भएकाहरुलाई समावेश गराउनका लागि यो बेला बढी भन्दा बढी सर्तक भएर अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष भण्डारीले भने–‘अहिले चुनावका लागि उम्मेदवार बन्नेहरु टिकटको लबिइङ् गर्न बालकोट, पेरिशडाँडा, सानेपा धाइरहेका छन् । यो बेला हामी अपाङ्गता भएकाहरु बढी भन्दा बढी सचेत भएर अघि बढ्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीमा समावेश हुनका लागि जनवर्गीय संगठनका प्रमुखसँग भेटेर पहल गर्नुपर्छ अन्यथा हामी हाम्रो अधिकार पाउनबाट चुक्नेछौँ । संघ र प्रदेशसभामा कम्तिमा पनि दुई–दुई जना अपाङ्गता भएका सांसदको रुपमा जानसके भने हाम्रो आवाज संसदमा उठाउन सक्ने अवस्था बन्छ ।’
उनले राजनीतिक पार्टीको घोषणापत्रमा अपाङ्गता भएकाहरुको मुद्धा समावेश गराउँन दलका घोषणापत्र तयार पार्ने संयोजकलाई भेटेर पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य विकास थापाले निर्वाचनको संघारमा सामानुपातिक तर्फ बन्द सूचीमा अपाङ्गता भएका ब्यक्तिलाई राख्नुपर्छ भन्ने नेताहरुलाई थाहा भएपनि अन्तिम समयमा ध्यान दिने गरेको र अपाङ्गता भएकाहरुको पहल नपुग्दा त्यो अवसर सपाङ्गले नै पाउने भएकोले त्यसमा सचेत हुनुपर्नेमा जोड दिए ।
यस्तै किरण शिल्पकारले राजनीतिक दलका भातृ संस्थाका नेतृत्वसँग छलफल गरेर समानुपातिक तर्फको बन्द सूचीमा अपाङ्गता भएकाहरुलाई समावेशका लागि पहल गर्नुपर्ने बताए । उनले अपाङ्गता भएका नेताहरुबिच अन्तरपार्टी सञ्जाल बनाएर भएपनि निर्वाचनमा अपाङ्गता भएकाहरुलाई उम्मेदवार बनाउन दवाव दिनुपर्नेमा जोड दिए ।
यस्तै आमसञ्चार माध्यममा अपाङ्गता भएकाहरुको मुद्धाले कम प्राथमिकता पाएको हुनाले कसरी मिडियामा उनीहरुको मुद्धालाई अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल गरिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्