साउन ३१, काठमाडौं ।
शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले कर्मचारीहरुलाई चनाखो भएर काम गर्न निर्देशन दिएका छन् । मंगलबार भएको नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मेयर नापितले आफू भन्दा फरक दलले नगरपालिकामा चुनाव जितेको भन्दै बिकासको काममा अवरोध गर्न खोज्ने, नयाँ विकासका कार्यक्रम आउँन नदिने जस्ता खेल खेल्न लागेको भन्दै कर्मचारीहरुलाई सर्तक हुन आग्रह गरे ।
उनले त्यस्ता अवरोध गर्नेहरुलाई चुनौती दिँदै शंखरापुर नगरपालिकामा जनताको सेवा गर्न कसैले रोक्न नसक्ने बताए ।
मेयर नापितले भने–‘अहिले केही कुरा सुन्नमा आइरहेको छ । हाम्रो शंखरापुर नगरपालिका भित्रका साथीहरुले विकासको कामलाई अस्तव्यस्त पार्नुपर्छ भनेर लाग्नुभएको छ रे । त्यस्तो कुराले हामीलाई कुनै असर पर्दैन । कर्मचारी साथीहरु हामीले स्वच्छ ढंगले जनताको साथ लिएर काम ग¥यौँ भने कसैले केही गर्न सक्दैन । माथिल्लो तहबाट आउने बजेट रोक्नुपर्छ भनेर केही मान्छे लागेको हामीले थाहा पाएका छौँ । ति मान्छेले शंखरापुरमा आउने बजेट रोक्न प्रयास गरेका छन् । त्यसले केही फरक पर्दैन । हामी समृद्ध नगरपालिका बनाउनुपर्छ भनेर आएका छौँ, जनप्रतिनिधि, कर्मचारी, जनता एकजुट भएर हाम्रो समृद्धिको सपनालाई साकार पारेर छोड्नेछौँ ।’
उनले हालै आफ्नो पहलमा शंखरापुर नगरपालिकाका किसानका लागि रायायनिक मलको कोटा उल्लेखनीय रुपमा बढाएको बताउँदै स्वास्थ्य सेवा प्रभावकारी रुपमा दिँदै गाउँघर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।
उनले प्रत्येक वडामा गएर स्वास्थ्य घुम्ति सेवा कार्यक्रम गर्न लागेको जानकारी गराए । जनतालाई लागेको रोगको उपचार गर्न र रोग लाग्न नदिनका लागि स्वास्थ्य परामर्श दिन गाउँ टोलमा पुग्ने उल्लेख गरे ।

उनले यस वर्षको बजेटमा सडकलाई स्तरोन्नती गर्ने विषयलाई मुख्य प्राथमिकता दिएको, प्रत्येक वडामा खानेपानी सेवा पु¥याउने कुरालाई प्राथमिकता दिएर अघि बढेको उल्लेख गरे ।
उनले कर्मचारी र जनप्रतिधिबिच नङ र मासुको सम्बन्ध रहेको बताउँदै समृद्ध शंखरापुर बनाउने उदेश्यमा कर्मचारीको मेरुदण्डको रुपमा भूमिका रहने बताए ।
उनले भने–‘तपाई कर्मचारीहरु यस नीति तथा कार्यक्रमलाई सफल बनाएर लैजानका लागि मेरुदण्डको रुपमा हुनुहुन्छ, जनतालाई पर्ने समस्या, जनताका लागि गर्नुपर्ने कामहरु तत्काल गरिदिनुभयो भने जनताले यो नगरपालिकालाई माया गर्छन, तर जनतालाई दुःख दिने काम गर्नुहुनेछैन भन्ने विश्वास लिएको छु ।’
उनले कर्मचारीहरुले गरेको अघिल्लो आर्थिक बर्षको समिक्षा महत्वपूर्ण रहेको बताउँदै यस आर्थिक बर्षका लागि पारित भएका नीति तथा कार्यक्रमलाई सफल बनाउनका लागि मिहेनतपूर्वक काम गर्न आग्रह गरे । उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उल्लेख गरे ।
उनले शंखरापुरको पर्यटन विकासका लागि मास्टरप्लान बनाएर काम गर्ने उल्लेख गरे । नगरपालिका अन्तर्गत रहेको घुमारचोकमा बुद्धपार्क बनाउनका लागि अवलोकन गरिएको जानकारी दिए । जेष्ठ नागरिक र गर्भवतीलाई एम्बुलेन्स सेवा दिने योजना सफल हुन लागेको बताए ।

कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको अभिलेखीकरणको काम चलिरहेको जानकारी दिए ।
उनले जनशक्ति भएन, काम गर्ने साधन नभएको, जनप्रतिनिधि सकारात्मक नभएको भन्ने नगरपालिकाका कर्मचारीले गुनासो गर्ने गरेको बताउँदै ती कुराहरु गौण रहेको बताए ।
उनले कर्मचारीमा इच्छाशक्ति भयो भने जस्तो समस्यायुक्त कामपनि गर्न सकिने बताउँदै चुनौतिका बिचमा आफूलाई खरो ढंगले उर्तान सकेमात्रै सफल हुने बताए । प्रमुख प्रशासकीय अधिकृत गौतमले चुनौतीका बिच काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले जनप्रतिनिधि र जनताको तर्फबाट छिटो काम होस भन्ने अपेक्षा रहने भन्दै कतिपय काम गर्दागर्दै ढिलो हुने, कतिपय काममा जस नपाउने अवस्थापनि रहन सक्ने भन्दै समस्याहरुका बावजुदपनि सक्रिया ढंगले काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।
नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रममा विभिन्न वडाका तर्फबाट, शिक्षा, स्वास्थ्य, कृषि, योजना, पशुस्वास्थ्य लगायत नगरपालिकाका विभिन्न शाखाका ४० वटा वार्षिक समिक्षा प्रस्तुतीकरण गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्