कम आयस्रोत भएपनि हामीसँग भएको स्रोत साधानले राम्रो काम गर्न सक्छौँ : नगरप्रवक्ता श्रेष्ठ

नयाँ पोस्ट
नयाँ पोस्ट १ भाद्र २०७९, बुधबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

साउन ३१, काठमाडौं ।

शंखरापुर नगरपालिकाका प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले शंखरापुर नगरपालिकालाई समृद्ध बनाउका लागि जनप्रतिनिधि र कर्मचारी एकै रथका दुई पाङ्ग्राको रुपमा रहेको टिप्पणी गरेका छन् । मंगलबार साँखुमा भएको शंखरापुर नगरपालिकाको गत आर्थिक बर्षको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उनले विकासका लागि कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध नङ् र मासुको जस्तै सम्बन्ध रहेको बताए ।
प्रवक्ता श्रेष्ठले गत आर्थिक बर्षको समिक्षा गर्ने क्रममा सबै कर्मचारीहरुले पावर पोइन्ट मार्फत प्रस्तुतीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाका कर्मचारीहरु अघिल्ला बर्षहरुको तुलनामा स्मार्ट बन्दै गएको उल्लेख गरे ।

उनले यस बर्षका लागि तयार पारिएको नीति कार्यक्रम नगरप्रमुखको मात्र नभएर सबै जनप्रतिनिधिहरु र कर्मचारीहरुको भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न सबैको भूमिका उल्लेख्य हुने बताए ।
उनले जनताको सेवाका लागि कर्मचारी र जनप्रतिनिधिहरु अत्यन्तै संवेदनशील भएर काम गर्नुपर्ने बताउँदै जनताका समस्या समाधान गर्न तत्पर रहनुपर्ने बताए । आफ्नो क्षेत्राधिकारभित्र रहेको र कर्तब्यभित्र रहेको काम आफैले गर्ने हो आफ्नै क्षमताको विकास हुने बताए ।
उनले अरुले गरेको जस्तो मात्र नगरी आफ्नै मौलिक ढंगले काम गर्नुपर्नेमा जोड दिए । उनले भने–‘हामीले कागेश्वरीले गरेको मात्र हेर्ने, गोकर्णेश्वरले गरेको मात्र हेर्ने हैन, हामी आफ्नै ढंगले काम गर्न सक्छौँ । निश्चयपनि हाम्रो आर्थिक स्रोत कमजोर होला, तर कम आयस्रोत भएपनि हामीसँग भएको स्रोत साधानले राम्रो काम गर्न सक्छौँ । आजको यो समिक्षा कार्यक्रममा कर्मचारीले प्रस्तुत गरेको सोच र हामी जनप्रतिनिधिको सोच उस्तै उस्तै भएको मलाई अत्यन्तै खुसी लागेको छ ।’


उनले कर्मचारी र जनप्रतिनिधिहरु एकजुट भएर समृद्ध शंखरापुर बनाउनुपर्नेमा जोड दिए । उनले नगरपालिका भित्रका सानातिना काममा नगरप्रमुखको मुख नताकी आफैले काम गर्न र महत्वपूर्ण काममा नगरप्रसमुखलाई समय दिन आग्रह गरे । उनले मेयर रमेश नापितको पहलमा किसानका लागि रासायनिक मलको कोटा बढाउन सफल भएको स्मरण पनि गरे । प्रवक्ता श्रेष्ठले ४ महिनापछि गर्नुपर्ने वार्षिक समिक्षाको काम छिट्टै सक्न सफल भएकोमा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरे ।

प्रतिक्रिया दिनुहोस्