भदौ १२, काठमाडौं ।
काठमाडौंंको शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशूल्क स्वास्थ्य सेवा दिने सम्बन्धी एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । आइतबार नगरप्रमुख रमेश नापितले साँखुमा रहेको सुष्मा कोईराला मेमोरियल अस्पतालसंग वडा नं १ देखि ९ सम्मका नगरबासीहरूलाई निःशूल्क तथा बिषेश छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो अस्पतालमा उपलब्ध सेवा मध्ये ७ वटा स्वास्थ्य सेवाहरू पूर्णरुपमा निःशूल्क र ११ वटा स्वास्थ्य सेवाहरूमा ३० देखि ६० प्रतिशत छुट हुनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा नगरपालिकाको तर्फबाट मेयर रमेश नापित र अस्पतालको तर्फबाट निर्देशक डा. सन्तोष बिक्रम भण्डारीबिच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगरप्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए । यो सेवा आजैदेखि सुरु भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।
समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गरेको बताउँदै नगरबासीको सेवामा नगरपालिका दृढसंकल्पिक भएर लागिपरेको बताए । उनले न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बन्चित भएका नगरबासी सो सम्झौताबाट लाभान्वित हुने बताए । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रमहरु लिएर अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

सो अवसरमा नगरपालिका उपमेयर समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, प्रबक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रशासन प्रमुख सुभद्रा पुडासैनी, नगर स्वास्थ्य प्रमुख बिष्णु चापागाई र अस्पतालको तर्फबाट सुजाता कोईरालाका स्वास्थ्य सल्लाहकार डा.राम भण्डारी, सिइयो दिपेन्द्र र अर्थ संयोजक भोला बिष्टको उपस्थिति थियो ।
कुन कुन उपचारमा कस्तो सुविधा पाइने ?
नगरप्रमुख नापित र सुष्मा कोइराला मेमेरियल अस्पतालका निर्देशक डा. भण्डारीबिच ७ प्रकारका स्वास्थ्य उपचार निःशूल्क गर्ने सम्झौता भएको हो । जस अनुसार डेन्टल ओपिडी (कस्मेटिक बाहेक) निःशूल्क, जेनेरल ओपिडी निःशूल्क, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक) निःशूल्क, इमेर्जेन्सी निःशूल्क, फिजियोथेरापी ओपिडी निःशूल्क, ड्रेसिङ निःशूल्क, नर्मल बेड निःशूल्क गर्ने सम्झौता भएको छ । माथि उल्लेखित उपचार शूल्क पूर्ण रुपमा निःशूल्क गर्ने सम्झौता भएको हो ।

यस्तै इन्भेस्टिगेशन अन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडी जस अन्तर्गत (गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटी) मा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निःशूल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्