३ वटा ट्रिपरबाट शंखरापुर नगरपालिकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन कार्य सुरु

नयाँ पोस्ट
नयाँ पोस्ट २१ भाद्र २०७९, मंगलवार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

भदौं २१, काठमाडौं ।
शंखरापुर नगरपालिकाले ३ वटा ट्रिपरबाट नगरपालिकामा संकलित फोहोर ल्याण्डफिल्ड साइड बञ्चरेडाँडामा व्यवस्थापनको कार्य सुरु गरेको छ । काठमाडौं महानगरपालिका वातावरण विभागसँग समन्वय गरेर यो कामको सुरु गरिएको शंखरापुर नगरपालिका वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
ल्याण्डफिल्ड साइडमा स्थानीयले गरेको अवरोध हट्नासाथै काठमाडौं महानगरको वातावरण बिभागमा पत्रचार गरि यसअघि एउटा ट्रिपरबाट मात्रै फोहर फाल्न अनुमति भएकोमा हाल थप २ वटा ट्रिपरको अनुमति प्राप्त भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । उनले शंखरापुर नगरपालिकाबाट थप २ वटा ट्रिपर ब्यवस्था गरि केही दिन देखि ३ वटा ट्रिपरबाट ल्याण्डफिल्ड साईडमा फोहर लगिरहेको जानकारी गराएका छन् ।
प्रवक्ता श्रेष्ठले भनेका छन्-“ल्याण्डफिल्ड साइडमा केही समस्या आउँदा फोहोर ब्यपस्थापन गर्न केही कठिनाई भएको र फोहर राख्ने ठाउँ पुर्ण रूपले भरिएको अवस्था थियो । अब ३ वटा ट्रिपरबाट फोहोर लैजाने काम सुरु भएको छ । शंखरापुर नगरपालिकाको फोहर ब्यवस्थापन दिर्घकालिन रुपमा समाधान गर्न विभिन्न चरणहरूमा राजनैतिक पार्टीका प्रतिनिधि लगायत सरोकारवालाहरूसँग छलफलहरू भईरहेको पनि जानकारी गराउँदछु ।”
शंखरापुर नगरपालिकाको फोहर ब्यवस्थापन गर्ने जिम्मा बिगत ४ बर्षदेखि ब्यु वेस्ट टु भ्यालु कम्पनीले गरिरहेको छ । कम्पनीले कुहिने ,नकुहिने फोहर छुट्टयाएर कुहिने फोहरको मल बनाउने काम गरिरहेको छ । पुनः प्रयोग वा प्रशोधन हुने प्लास्टिकहरू र अन्य सामानहरू बिक्री गर्ने र बिक्री नहुने प्लास्टिकहरू मात्रै ल्याण्डफिल्ड साईडमा ब्यवस्थापनका लागि पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्