नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको बताएका छन् । सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाउनुका साथै लगाएको महाभियोग पनि ६ महिनासम्म छलफल नगरिएको भन्दै असन्तुष्टि जनाए ।
‘६ महिनासम्म महाभियोगबारे छलफल नगर्ने अनि अव संसदको आयु सकिन लाग्यो भनेपछि नाटक गर्ने र ६ जनाको जबरजस्त बहुमत बनाएर काइते प्रतिवेदनका आधारमा एक जना व्यक्तिका विरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग गरियो’, ज्ञवालीको भनाइ छ । उनले वरियता प्रोटोकलमा चौथो नम्बरमा रहेका प्रधानन्यायाधीशको त अवस्था यस्तो छ भने नेपाली जनताको हालत के होला भन्दै प्रश्न गरे ।
उनले गठबन्धनसँग सत्ताको भागबण्डा र मिलीजुली खाने बाहेक अरु कुनै एजेण्डा नभएको दावी समेत गरे । मंसिर ४ मा हुने निर्वाचनले राजनीतिक स्थिरता चाहने र अस्थिरता चाहने बीचको फैसला गर्ने दिन भएको भन्दै नेकपा एमाले विजयी भएमात्रै मुलुकलाई स्थिरता दिने नेता ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्