आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन चार पार्टीले बहिष्कार गर्ने भएका छन्। मंसिर ४ गते हुने निर्वाचनलाई नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (मसाल) केन्द्रीय समन्वय समिति र माओवादी कम्युनिस्ट पार्टी नेपालले बहिष्कार गर्ने भएका हुन्।
नेकपा बहुमत पार्टीका प्रवक्ता सुदर्शनले चार वटा पार्टीले संयुक्त रूपमा दलाल पुँजीवादी सत्ताको रक्षाका लागि आगामी मंसिर ४ गते गर्ने भनिएको प्रदेश र सङ्घको निर्वाचन खारेज, बहिष्कार गर्ने निर्णयमा पुगेको जानकारी दिए। उनीहरुले निर्वाचनलाई कथितको संज्ञा दिएका छन्।
मंसिर ४ गते तय भएको निर्वाचनका लागि शनिबार रातिबाट प्रतिनिधि तथा प्रदेश सभाको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै नेपाल नयाँ निर्वाचन प्रक्रियामा गएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार राजनीतिक दलहरुले आइतबार र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गरेका छन्।
नेपालले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेकाले संघीय संसद अर्थात प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन्। प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको उम्मेदवार मनोनयन असोज २३ गतेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्