शंखरापुर नगरपालिकाले भोलीदेखि ‘घरदैलो स्वास्थ्य सेवा’ कार्यक्रम सुरु गर्दै, उद्घाटन छापबाट

नयाँ पोस्ट
नयाँ पोस्ट ६ आश्विन २०७९, बिहीबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

असोज ६, काठमाडौं ।
‘मेयरसँगको स्थानीय सरकार शंखरापुर नगरपालिकामा’ कार्यक्रम अन्तर्गत शंखरापुर नगरपालिकाले भोलीदेखि प्रत्येक वडा–वडामा गएर निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्दैैछ । असोज ७ गते नगरपालिकाको वडा नंबर १, छाप भञ्ज्याङबाट घरदैलो स्वास्थ्य कार्यक्रमको उद्घाटन हुने नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले नयाँ पोष्ट डटकमलाई जानकारी दिए ।
असोज ७ गते बिहिबार नगरप्रमुख रमेश नापितले छाप भञ्याङबाट घरदैलो स्वास्थ्य सेवा कार्यक्रम उद्घाटन गर्दैछन् । क्रमिक रुपमा नगरपालिकाका अन्य वडाहरुमा यो कार्यक्रमलाई अघि बढाँइदैछ ।
घुम्ती स्वास्थ्य सेवामा चिकित्सक, नर्स, पारामेडिक, ल्याब टेक्नीसियन, इसिजी टेक्निसियन, तथा एम्बुलेन्स सहितको टोलीद्वारा स्वास्थ्य सेवा निश्चित मिति, समय र बार तय गरेर सञ्चालन गर्ने योजना छ ।
स्वास्थ्य सेवाका लागि ७ जना स्वास्थ्यकर्मीको टोली परिचालन हुनेछन् । जसअन्तर्गत एकजना डाक्टर, नर्स, ल्याब टेक्निसियन, इसिजी टेक्निसियन, एम्बुलेन्स ड्राइभर, कार्यालय सहायक र सहयोगी २ जना रहनेछन् ।


प्रत्येक महिना प्रत्येक वडामा स्वास्थ्य शिविर
यो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत प्रत्येक वडामा हरेक महिना स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ । आवश्यकता हेरी एउटा वडामा मासिक २ पटकसम्म शिविर सञ्चालन गर्ने नीति लिइएको छ ।
स्वास्थ्य शिविरमा प्रारम्भिक स्वास्थ्य परिक्षण गरिनेछ भने औषधी वितरण, सुगर जाँच, पिसाव जाँच, इसिजी सेवा, परामर्श सेवा र रेफरल सेवा दिइनेछ । घुम्ति शिविरमा स्वास्थ्य परिक्षणका क्रममा अस्पताल पठाउनुपर्ने अवस्थाको विरामी भेटेमा सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु वा इन्द्रायणी नगर अस्पतालमा विरामीलाई पठाइने व्यवस्था गरिनेछ । जटिल किसिमको रोग देखिएमा नगरपालिकाको सिफारिसमा केन्द्रीय अस्पतालमा पठाउने नीति लिइएको छ ।
नगरबासीहरुलाई निरोगी बनाउन, गुणस्तरिय रुपमा सर्वसुलभ ढंगले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न यो कार्यक्रम गर्न लागिएको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनले भने–‘शंखरापुर नगरवासीको स्वास्थ्य अवस्था परिक्षण गर्ने, गम्भिर किसिमका रोग पहिचान गरि उपचार प्रक्रिया अघि बढाउन, घरदैलोमै आधारभुत स्वास्थ्य सेवा दिन यो कार्यक्रम संचालन गर्न लागेका छौँ । हाम्रो नगरपालिका क्षेत्रका सबै वर्ग क्षेत्र र समुदायका नागरिकको आधारभूत तथा गुणस्तरिय स्वास्थ्य सेवामा पँहुच पु¥याउनु हाम्रो उदेश्य हो ।’
उनले सुष्मा कोइराला अस्पतालसँगको सहकार्यमा निःशूल्क स्वास्थ्य सेवा दिनुका साथै घुम्ती स्वास्थ्य सेवा मार्फत नगरबासीका लागि स्वास्थ्य सेवा सुनिश्चित गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्