यो वर्षको ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ लावण्य सन्देशका सम्पादक पवनलाल श्रेष्ठलाई दिइने

नयाँ पोस्ट
नयाँ पोस्ट ६ आश्विन २०७९, बिहीबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

असोज ६, काठमाडौं ।
यो वर्षको ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ लावण्य सन्देशका सम्पादक पवनलाल श्रेष्ठलाई दिइने भएको छ ।
शंखरापुर नगरपालिका साँखुबाट प्रकाशित हुँदै आएको लावण्य सन्देश साप्ताहिकका पत्रकार सम्पादक श्रेष्ठलाई यही असोज ८ गते शनिवार सो पुरस्कार प्रदान गर्न लागिएको हो । नगद १५ हजार रुपैयाँ र सम्मानपत्र सहित साँखुमा गरिने एक कार्यक्रमका बिच उनलाई सम्मान गरिँदैछ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा आधारित भएर दुई दशकदेखि निरन्तर सक्रिय पत्रकारिता गरे वापत श्रेष्ठलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
उनले पत्रकारिता क्षेत्रमा लागेर सो क्षेत्रको ईतिहास, पुरातात्विक अन्वेषण तथा साहित्य, कला संस्कृति एवं सो क्षेत्रको प्रचार प्रसारमा योगदान गरेका छन् । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट रहेकी छिन् ।
श्रेष्ठ स्थानीयस्तरमा पत्रकारिता क्षेत्र अगाडि बढोस भन्ने चाहना राख्ने पत्रकारका रुपमा रहेका छन् । उनले नेपाल पे्रस युनियन मार्फत २ पटक र लावण्य सन्देश मार्फत २ पटक आधारभूत रेडियो एवं छापा पत्रकारिता सम्बन्धी तालिमको व्यवस्था समेत गरेका छन् ।
आम सर्वसाधारणले पत्रकारिता तालिम लिएर लेखन शैलीमा परिवर्तन गरोस भन्ने सम्पादक श्रेष्ठको चाहना छ ।
बिभिन्न सामाजिक संघ संस्थाहरुमा समेत सक्रिय श्रेष्ठ नेपाल पे्रस युनियन साँखु शाखाका संस्थापक अध्यक्ष एवं हाल वागमती प्रदेशका पार्षद् रहेका छन् ।
गत वर्ष यो पुरस्कार ईतिहासविद् एवं लावण्य सन्देश साप्ताहिकका नियमित स्तम्भकार प्रकाशमान “सक्व” लाई प्रदान गरिएको थियो । “कमलबहादुर विष्ट स्मृति पुरस्कार” संस्थाका अध्यक्ष राजु विष्टले यो पुरस्कार विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्न स्थापना गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्