रवीन्द्र मिश्रलाई बरिष्ठ उपाध्यक्ष दिने राप्रपाकाे प्रस्ताव

नयाँ पोस्ट
नयाँ पोस्ट ७ आश्विन २०७९, शुक्रबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa


विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रस्ताव गरेको छ । अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै उनलाई वरिष्ठ उपाध्यक्ष दिनेबारे बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा औपचारिक प्रस्ताव गरेका हुन् । यो विषयमा थप छलफल र टुंगो लगाउने जिम्मेवारी बैठकले लिङ्देनलाई नै दिइएको छ ।

राप्रपाका एक नेताले अध्यक्षले मिश्रसँग एकताबारे अध्यक्षले बैठकलाई जानकारी गराएको बताए । राप्रपाको सहअध्यक्ष पदमा बार्गेनिङ गर्दै आएका मिश्र आफ्नो पूर्ववत् अडानबाट पछि हटेका हुन् । वरिष्ठ उपाध्यक्ष बन्न राजी भएपछि दुई पक्षीय बैठक सकारात्मक बनेको छ । ती नेताका अनुसार वरीयताको विषयमा भने अझै टुंगो लागेको छैन । ‘राप्रपामा धेरै पुराना नेताहरु हुनुहुन्छ । लामो राजनीतिक अनुभव नभएका मिश्रलाई वरिष्ठ अध्यक्ष पद दिएपनि अध्यक्षपछिको वरीयता भने दिन सक्ने अवस्था छैन’, ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष दीपक बोहरा भन्दा माथिको वरियता पनि दिनसक्ने अवस्था छैन ।’

राप्रपाभित्र उपाध्यक्ष बुद्धिमान तामाङलगायतले मिश्रलाई आफूभन्दा माथि वरीयता राख्न नहुने अडान लिँदै आएका छन् । तामाङले सबैलाई चित्त बुझने वातावरण बनाउन पर्नेमा जोड दिँदै आएको राप्रपाका नेताहरु बताउँछन् । तर, तामाङले आफ्नोबारे गलत प्रचार भएको भन्दै पार्टीले गरेको सही निर्णय आफूलाई मान्य हुने बताएका छन । ‘पार्टीले निर्णय गर्यो भने मलाई के अफ्ठ्यारो हुन्छ र ? पार्टीले निर्णय गर्यो भने भइहाल्छ । यदि मान्य हुँदैन भने त पार्टी छाडेर हिँडे भइहाल्यो’, उनले भने, ‘पार्टी भनेको विधि र विधानअनुसार चल्ने कुरा हो ।’

अब वरीयताको विषयमा अध्यक्षले सबैसँग छलफल गरेर टुंगो लगाउने निर्णय बिहीबारको बैठकले गरेको नेताहरुले बताएका छन् । नेताहरुका अनुसार मिश्र चुनावअघि नै राप्रपामा प्रवेश गर्ने र काठमाडौं १ बाट चुनाव लड्ने तयारीमा रहेका छन् । पछिल्लो समय राजतन्त्रको कट्टर समर्थक बनेका उनले हालै ‘विचारभन्दा माथि देश’ नामक पुस्तक समेत प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्