नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका छन्।
‘अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझि, नजानेर, झुक्किएर भन्ने होइन। जानिबुझि संविधान मिच्ने जो काम भएको छ। यो सामान्य होइन,’ उनले भने।
उनले संविधानको संरक्षकबाट प्रतिगमनलाई निरन्तरता पाएको भन्दै फेरि पनि प्रतिगमन हुन सक्ने बताए।
‘जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ। त्यो रोकिएको छैन। त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडी ल्याउने जमर्को भइराखेको छ। हामीले आफ्नो शतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्वासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा छ,’ उनले भने।
उनले भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि जनाउँदै संविधान र परिवर्तनमाथि नै प्रहार भएको बताए।
‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरुले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणीकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरु भइराखेका छन्। सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरु अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई। त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडि बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो,’ उनले भने।
उनले एकथरी मानिसहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेका भन्दै प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको आरोप लगाए। ‘सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धीहरु उल्ट्याउने षड्यन्त्र हो,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्