शंखरापुरमा ‘मेयरसँग निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम’ लागू : मेयर नापितले गरे उद्घाटन

नयाँ पोस्ट
नयाँ पोस्ट ७ आश्विन २०७९, शुक्रबार
पढ्न लाग्ने समय 5 मिनेट
Aa

असोज ७, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकामा मेयरसँग निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ । शुक्रबार नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिका वडा नंबर १ छाप भञ्ज्याङमा सो कार्यक्रमको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख नापितले नगरपालिकाको सवैभन्दा विकट क्षेत्रको रुपमा रहेको वडा नंबर १ छाप भञ्ज्याङको घरदैलोमा आएर नगरपालिकाले निःशूल्क स्वास्थ्य सेवा सूरु गरेको जानकारी गराए ।
उनले भने–‘बृद्ध हुनुभएका बुवाआमा जसलाई स्वास्थ्य उपचार पाउनका लागि समस्या परिरहेको छ, उहाँहरुका लागि आज हामीले निःशूल्क उपचार सूरु गरेका छौँ । उहाँहरुको स्वास्थ्यमा यहाँ उपचार नहुने समस्या देखिएमा हामी शंखरापुर नगर अस्पताल वा सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएका छौँ । हाम्रा नगरबासीहरुमा रोग नै नलागोस र लागेको छ भने त्यसको उपचारका लागि हामीले घरदैलो सेवा सुरु गरेका हौँ । निःशूल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना हो । हामी निर्वाचित भएर आइसकेपछि निःशूल्क स्वास्थ्य सेवा दिने काम सुरु गरेका छौँ ।’


उनले आर्थिक रुपमा नगरपालिका कमजोर रहेपनि मन बलियो बनाएर निःशूल्क स्वास्थ्य सेवा सूरु गरेको जानकारी दिए । उनले नगरवासीलाई स्वास्थ्य जस्तै शिक्षा क्षेत्र, भौतिक पूर्वाधार विकास र स्वस्छ खानेपानी दिनका लागि प्रयत्नशील भएर लागिपरेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख समिता श्रेष्ठले जनताको स्वास्थ्य अवस्था सुधार गर्नका लागि कार्यपालिका बैठकबाट मेयरसँग निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अगाडि बढाएको जानकारी दिइन् ।
उनले यो कार्यक्रमबाट जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्छ भनेर सुरु गरेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरी पूर्ण रुपमा शंखरापुर नगरपालिकाको विकास गर्न नसकिने उल्लेख गरिन् । उपमेयर श्रेष्ठले सुष्मा कोइराला अस्पतालबाट निःशूल्क स्वास्थ्य सेवा दिनेगरी सम्झौता भएको जानकारी गराउँदै नगर अस्पतालमा नयाँ डाक्टरहरुको नियुक्ति भएको उल्लेख गरिन् ।

उनले भनिन्–‘प्रत्येक वडामा मेयरसँग निःशूल्क स्वास्थ्य सेवा कार्यक्रम लैजाँदैछौँ । यसबाट जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुगेको छ कि छैन त्यसबारे अनुगमन पनि गछौँ र समिक्षा पनि गर्छौै । उहाँहरुलाई राम्रो भएको अवस्थालाई यो कार्यक्रमलाई अझै प्रभावकारी ढंगले अघि बढाउँछौँ ।’
कार्यक्रममा बोल्दै वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले मेयरसँग निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम उद्घाटनको अवसर शंखरापुर नगरबासीका लागि अत्यन्तै खुसीको दिन रहेको बताए । उनले कार्यक्रमको उद्घाटन भएसँगै अब शंखरापुर नगरपालिकाको गाँउ टोलमा निःशूल्क स्वास्थ्य सेवा दिन सुरु भएको बताए ।
उनले भने–‘हामी नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि मेयरसावले एउटा भिजन बनाउँनुभयो । पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्यको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढिरहनुभएको छ । यी कार्यक्रमहरुलाई सफल बनाउन हामी जनप्रतिनिधीहरु, कर्मचारीहरु लागिरहेका छौँ । हामीले शंखरापुरबासीलाई सर्वसूलभ रुपमा स्वास्थ्य सेवा दिन सुष्मा कोइराला अस्पतालसँग सम्झौता गरेर ७ प्रकारका सेवा निःशूल्क र ११ वटा स्वास्थ्य सेवाहरु ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौँ ।’
प्रवक्ता श्रेष्ठले शंखरापुर नगर अस्पतालमा डाक्टर नर्स नियुक्त गरेर उपचारका लागि सहज अस्वस्था तयार पारेको बताउँदै अस्पतालसम्म पुग्न नसक्नेहरुका लागि घरदैलोमा आएर स्वास्थ्य सेवा दिने कामको सुरुवात भएको बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जनताका लागि भौतिक पूर्वाधारको विकासको साथसाथै मानव विकासको महत्वपूर्ण आयामहरुलाई सँगसँगै लिएर जानुपर्ने बताए ।


उनले देशको राजधानीमा रहेर पनि दुर्गम भूगोल, जनजिवन र आर्थिक सामाजिक अवस्था भएका जनतालाई शिक्षा, स्वास्थ्य जस्ता आधारभूत पूर्वाधारहरु पु¥याउने लक्ष्य तय भएको बताए ।
उनले आफूले नगरपालिकामा भर्खर जिम्मेवारी सम्हालेको उल्लेख गर्र्दै सबैको साथ र सहयोगमा नगरपालिकाले तय गरेका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अघि बढाउने बताए । उनले भने–‘कुनैपनि कामको हामीले सूरुवात गर्छौ, त्यो आफैँमा महत्वपूर्ण विषय हो । त्यो भन्दा महत्वपूर्ण पक्ष भनेको दिगो व्यवस्थापनको काम नै हो । जुन सोच, भिजन र लक्ष्यका साथ हामीले यो कार्यक्रमको सुरुवात गरेका छौँ, हाम्रा नगरबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चिताका लागि जनप्रतिनिहरु, आम नागरिक समाज सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले मेयरसँग निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम दिगो रुपमा अघि बढोस भन्ने कामना गरे ।
यस्तै कार्यक्रममा वडा नंबर ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र वडा नंबर १ का अध्यक्ष वेदनारायण दंगालले मेयरसँग निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट अस्पतालको पुहँचबाट टाढा रहेका नगरबासी लावान्वित हुने बताए ।


सो निःशूल्क स्वास्थ्य सेवा कार्यक्रममा २ जना डाक्टर, एकजना नर्स, एकजना ल्याव टेक्निसियन, एकजना फर्मासिष्ट र महिला स्वास्थ्य स्वयंसेविकाहरुको टोलीले स्थानीयबासीको को उपचार गरेका छन् ।
उद्घाटनको पहिलो दिन ६३ जना महिला र ३९ जना पुरुष गरी १ सय १ जनाले स्वास्थ्य सेवा लिएको प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
यो कार्यक्रम अन्तर्गत प्रत्येक वडा–वडामा चिकित्सक, स्वास्थ्यकर्मीको टोली गएर स्थानीयको उपचार गर्ने लक्ष्य लिइएको छ । वडा नंबर १ बाट उद्घाटन भएको यो कार्यक्रम क्रमिक रुपमा शंखरापुर नगरपालिकाका सबै वडामा कार्यान्वयन गर्दै जाने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्