राष्ट्रिय खेलाडी विजयाकुमारी वाइबा शंखरापुर वडा नंबर ६ र ७ बाट पुरस्कृत

नयाँ पोस्ट
नयाँ पोस्ट ८ आश्विन २०७९, शनिबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

असोज ८, काठमाडौं ।
मार्सल आर्ट अन्तर्गत पर्ने हाप्किडोकी राष्ट्रिय खेलाडी बिजायाकुमारी वाइबा पुरस्कृत भएकी छिन् । शनिवार शंखरापुर नगरपालिकामा वडा नंबर ६ र ७ ले उनलाई पुरस्कृत गरेको हो । सलम्बुटारस्थित सलम्बुदेवी मन्दिर परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको विजया दशमी, दिपावली र नेपाल संवतको नयाँ बर्षका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नगरप्रमुख रमेश नापित, वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नंबर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले नगद ५०–५० हजार रुपैँया र सम्मान पत्रसहित पुरस्कृत गरेका हुन् ।

सो अवसरमा बोल्दै नगरप्रमुख रमेश नापितले खेल क्षेत्रबाट शंखरापुर नगरपालिकालाई अगाडि बढाउने उदेश्य रहेको बताउँदै राष्ट्रिय खेलाडीलाई हौसला दिन पाएकोमा खुुसी ब्यक्त गरे । उनले नगरपालिकाले विभिन्न प्रकारका खेललाई अघि बढाउने विषय नीति तथा कार्यक्रममा समेटेको बताउँदै क्रमशः खेल क्षेत्रको विकासका लागि क्रियाशिल हुने जानकारी गराए ।
यस्तै वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ र वडा नंबर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले राष्ट्रिय खेलाडीलाई थप प्रगतिका लागि हौसला प्रदान गर्न पाएकोमा खुसी ब्यत्त गर्दै अझै सफलता हासिल गर्न कामना गरे ।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष राजु विष्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
पुरस्कृत वाइबाले गत जुलाई महिनामा उज्वेकिस्तानमा भएको एशियाली हाप्किडो प्रतिस्पर्धामा नेपालका तर्फबाट स्वर्णपदक जित्न सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्