दशैंका बेला नगरपालिकाले सम्मान गरेपछि शंखरापुरका ज्येष्ठ नागरिक हर्षित

नयाँ पोस्ट
नयाँ पोस्ट १४ आश्विन २०७९, शुक्रबार
पढ्न लाग्ने समय 3 मिनेट
Aa

असोज १४, काठमाडौं ।
शंखरापुर नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । ३२ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार साँखुमा गरिएको एक कार्यक्रमा नगरप्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले सम्मानपत्र सहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरेका हुन् । प्रत्येक वडाबाट सबैभन्दा धेरै उमेर भएका ३८ जना जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा न्यानो कपडा दिएर सम्मान गरिएको हो ।
नगरको सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा वडा नं २ कि १०७ वर्षकी तोक्सानी वाइबालाई सम्मान पत्रसहित सम्मानित गरिएको छ । यस्तै वडा नं ९ का ९९ वर्षका रनबहादुर मालीलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा लामो समय ज्येष्ठ नागरिकहरूको क्षेत्रमा काम गदै आएका अधिवक्ता मनोहर उप्रेतीलाई पनि सम्मान गरिएको छ । शंखरापुर नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला चुडाल अधिकारीले जानकारी दिइन् ।
सो कार्यक्रममा बोल्दै नगरप्रमुख रमेश नापितले नगरपालिकाले टोल टोलमा गएर ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको बताए । नगरपालिकाले निःशुल्क स्वास्थ्य सेवा लगायत स्वास्थ्य बिमाको कार्यक्रमहरू ल्याएको पनि उनले उल्लेख गरे । कार्यक्रममा आउन नसकेका ज्येष्ठ नागरिकहरूलाई घरघरमा गएर सम्मान गर्ने पनि उनले जानकारी दिए । उनले भने,“ ज्येष्ठ नागरिकका लागी नित नियम अनुसार दिन मिल्ने सबै सेवा सुविधा लिन नगरपालिका सदैव तयार रहेको छ ।”
यस्तै उपमेयर समिता श्रेष्ठले ज्येष्ठ नागरिक विरुद्ध कसैले दुव्र्यवहार गरे नगरपालिकामा जानकारी गराउन आग्रह गरिन । भजनकिर्तनका लागी सामाग्री र ज्येष्ठ नागरिकलाई वडा स्तरबाट घुमाउन लैजाने योजना रहेको पनि उनले जानकारी दिइन् ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले नगरपालिकासँग स्रोत साधनको कमी भएको अवस्थामा पनि नगरपालिकाले महत्वपूर्ण सफलता हासिल गर्न सफल रहको बताए । उनले भने, “ज्येष्ठ नागरिकको समस्या समाधान गर्नका लागी नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर गर्नका साथै स्वास्थ्य बिमा तथा निःशुल्क एम्बुलेन्स सेवाको प्रबन्ध गरेको छ ।” उनले सो कार्यक्रम नगरपालिका जेष्ठ नागरिकहरुका साथमा छौ भन्ने संकेतिक रूपमा कार्यक्रम आयोजना गरेको पनि जानकारी दिए । सबैको सुझावलाई लिएर नगरपालिका अगाडी बढ्ने बताउँदै उनले दुर्गम बस्तीमा बृद्धाभत्ता वितरणमा देखिएको समस्या बैङ्कहरूसँग समन्वयन गर्दै समाधान गर्ने पनि जानकारी दिए ।
दशैंको बेला नगरपालिकाबाट सम्मानित हुन पाएकोमा जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गर्दै सो कार्यका लागि धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा नगरप्रमुख नापित, उपप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खनालका साथै महिला ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख निर्जला अधिकारी चुडाल, सूचना अधिकृत सुभद्रा पुडासैनी लगायतका कर्मचारीहरू, राजनैतिक दलका प्रतिनिधीहरुका साथै समाजसेवीहरू समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्