कार्तिक ३, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले नगरपालिकाको फोहोर संकलनको जिम्मा पाएको कम्पनी ‘ब्यु वेस्ट टु भ्यालु’ लाई एक महिने अल्टिमेटम दिएका छन् ।
नियमित फोहार संकलन नगरेपछि शुक्रबार नगरपालिकाको कार्यालयमा भएको छलफलमा आगामी १ महिनासम्मको कामको अवस्था हेरेर कम्पनीसँगको सम्झौता थप्ने वा खारेज गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाले थुप्रिएको सय ट्रिप फोहोर मध्ये ३८ ट्रिपर फोहर उठाउन सहयोग गर्ने भएको छ । अवदेखि निरन्तर फोहोर संकलन तथा व्यवस्थापन गर्न कम्पनी सहमत भएको छ । शुक्रबार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख रमेश नापितले फोहर ब्यवस्थापनको जिम्मा लिएको कम्पनी ‘ब्यु वेस्ट टु भ्यालु’का प्रतिनिधिलाई नियमित फोहोर संकलन र व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । काम सन्तोषजनक नभए कम्पनीसँग गरिएको सम्झौता खारेज गर्ने चेतावनी दिएका छन् ।
नगरपालिकाले ब्यु वेस्ट टु भ्यालुको संकलन केन्द्रमा करिब ६ महिनादेखि थुप्रेको करिब १०० ट्रिपर फोहर मध्ये नगरपालिकाको ३८ ट्रिपर फोहर उठाउन सहयोग गर्ने र सो सहयोगपछि पनि चित्तबुझ्दो काम नगरे सम्झौता रद्ध गरिने नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
नगरपालिकामा भएको छलफलमा १ महिनासम्म फोहोर संकलनको कार्यप्रगति हेरेर कम्पनीको म्याद थप्ने वा नथप्नेबारे निर्णय हुनेछ । नगरपालिकाको सहयोगमा फोहोर संकलन केन्द्रमा फोहर खाली भएको र अबदेखि नियमित फोहर संकलन हुने प्रवक्ता श्रेष्ठले बताएका छन् ।
शुक्रबार साँखु बजारको सुन्टोल, दुगाहिटी, नयाँ बसपार्क र पुरानो बसपार्क बाहेक साँखु बजारमा ४ ट्रिपर फोहर संकलन गरिएको छ । आईतबार सलम्बुटार, खुलालटार, ईन्द्रायणी, सानागाँउ, जहरसिंह पौवाको फोहर संकलन गरिने भएको छ । सम्झौता अनुसार फोहोर संकलन गर्ने कम्पनीले काम नगर्दा नगरपालिकामा फोहोर थुप्रिदै गएको थियो ।

प्रतिक्रिया दिनुहोस्