को हुन काठमाडौं क्षेत्र नंबर २ मा राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेल ?

नयाँ पोस्ट
नयाँ पोस्ट ५ कार्तिक २०७९, शनिबार
पढ्न लाग्ने समय 6 मिनेट
Aa

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल चुनावी मैदानमा छिन् ।
सोही क्षेत्रको बत्तिसपुतली स्थायी बासिन्दा रहेकी पोखरेल समाजसेवाको क्षेत्रमा परिचित ब्यक्तित्व हुन । विगत १० वर्षदेखि राजनीतिमा संघर्षशील रहेकी पोखरेल गत बर्ष राप्रपाको महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आम रुपमा चर्चामा आएकी थिइन् ।
समाजसेवा र राजनीतिका दुई पाटोलाई संगसंगै अघि बढाएकी ३५ बर्षकी युवा उम्मेदवार पोखरेल खासगरी युवा पुस्ता र महिलालाई स्वावलम्बी बनाउने खालका सामाजिक काम गर्दै आएकी नेतृ हुन् ।
काठमाडौं क्षेत्र नंबर २ मा ‘टुरिष्ट’ उम्मेदवारले विगतदेखि नै चुनाव जित्ने र जनताको मनोभावना अनुसार काम नगर्ने परिपाटीलाई चुनौती दिँदै आफूले यो पटक राप्रपाको प्रतिनिधित्व गर्दैै उम्मेदवारी दिएको उनी बताउछिन् । राजनीति उचाई हासिल गर्न अन्य उम्मेदवार चुनावी मैदानमा आएपनि आफू भने जनताका सुख– दुःखमा साथ दिन र व्यवस्थित ढंगले काठमाडौं क्षेत्र नंबर २ को विकास निर्माणको काम अघि बढाउन चुनावी मैदानमा आएको उनको भनाई छ ।

शिक्षा डवल एम.ए : समाजसेवा र राजनीतिमा पूर्ण समर्पित

काठमाडौं क्षेत्र नंबर २ मा राप्रपाकी उम्मेदवार पोखरेलले त्रिभूवन विश्वविद्यालयबाट दुईवटा विषयमा एम.ए. गरेकी छिन् । समाजशास्त्र र राजनीतिक शास्त्रमा दुई एम.ए गरेकी उनले पाटन क्याम्पसबाट बीबीएस उर्तीण गरेकी छिन् ।
व्यवस्थापन र मानविकी संकायका विषयमा अध्ययन गरेकी उनी हाल नेपाली तयारी पोषाक उत्पादन गर्दै कुशल उद्यमी बन्न पाइला चाल्दैछिन भने समाजसेवा र राजनीति क्षेत्र उनको अर्को परिचय हो ।
पोखरेलले विगत १२ बर्षदेखि समाजसेवाको क्षेत्रमा हात हालेकी थिइन् । सडकमा रहेका अनाथ बालवालिकाको उद्धार गरेर अनाथ आश्रममा आश्रय दिने, उनीहरुलाई पढनका लागि स्कूल भर्नाको व्यवस्था गर्ने, निःशूल्क कापी कलम किनिदिने लगायतका कामबाट उनले सामाजसेवा सुरु गरेकी थिइन् ।
त्यसपछि साहारा नपाएका जेष्ठनागरिक, सन्तान नभएर बेसाहारा भएका बुद्धबृद्धालाई स्याहार सुसार गर्न बृद्धाश्रमको प्रवन्ध गर्ने काम गरेकी थिइन् ।
चोरी बढेपछि पुरानो बानेश्वरदेखि सिनामंगलसम्म सरकारसँगको सहकार्यमा सोलार सडक बक्ति राख्ने, ति क्षेत्रका सार्वजनिक स्थानमा सरसफाई गर्ने अभियान सञ्चालन गरेकी थिइन् ।

युवा स्वरोजगार र महिला सशक्तिकरणमा अग्रणी भूमिका

मूलत समाजसेवामा आफूलाई समर्पित गरेकी पोखरेल युवाहरुलाई आयआर्जनको बाटो देखाउने र महिलाहरुलाई स्वावलम्बी बनाउने अभियानमा विगतदेखि आजसम्म निरन्तर क्रियाशील रहेकी छिन् ।
बेरोजगार रहेका यूवाहरुलाई निःशूल्क रुपमा मोबाइल मर्मत तालिम, स्कूटर, मोटरसाइकल मर्मत तालिम, कुक, वेटर तालिम लगायतका विभिन्न तालिम दिँदै आएकी छिन् । नेपालबाट यूवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र स्वदेशमै केही गरेर आत्मनिर्भर बनाउनका लागि उनले यस्ता अभियान सञ्चालन गर्दै आएकी छिन् ।
उनी भन्छिन्–‘कोही पनि बेरोजगार हुनु नपरोस, युवाहरुलाई विदेश जाने अवस्था नआयोस भन्ने मेरो चाहना छ । सरकारले यूवालाई रोजगारी दिने व्यवस्था गर्नुपर्ने हो तर गर्न सकेको छैन । मैले व्यक्तिगत तबरमा जति सकिन्छ त्यति युवाहरुलाई बेला बेला सीपमुलक तालिम दिँदै आएकी छु । भोली संसदमा पुगे भने मैले मुख्य रुपमा यूवा स्वरोजगार बनाउने, महिलाहरुलाई कुनै सीप दिएर उनीहरुलाई आत्मनिर्भर बनाउने बाटोमा त्रियाशील हुनेछु ।’
झन्डै १० बर्षअघि तारामण्डल महिला सशक्तिकरण अभियान स्थापना गरेर उनले समाजसेवाको बाटोमा अघि बढेकी हुन । कुनै विदेशी दातृ निकायको १ रुपैयाँपनि सहयोग नलिई आफ्नै उद्यमबाट भएको मुनाफाको रकम र सहयोग गर्न चाहने स्वदेशी दाताहरुको सहयोगमा उनले यूवा र महिलालाई अगाडि बढाउने खालका काम गर्दै आएकी छिन् ।
जुत्ता बनाउने, साबुन बनाउने, फुरनदाना, आचार बनाउने, बाँस र निगालो पर्याप्त पाइने ठाउँमा डोको बुन्ने तालिम, ठाउँ र परिवेश आनुसार तथा युवा र महिलाहरुको माग अनुसारका तालिम कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । महिलाहरुले हातले बनाउन सक्ने हरेक प्रकार सामन उत्पादन गर्न प्रेरित गर्ने र त्यसको बजार व्यवस्थापनका लागि पनि सहयोग गर्दै आएकी छिन् ।

कोभिड संकटका बेला उनले रोजगारी गुमाएका धेरै महिलाहरुलाई घरमै बसेर आय आर्जन गर्न सकिने प्रकारका तालिम दिएर आत्मनिर्भर बनाएकी थिइन् । घरमै बसेर गर्न सकिने बजारमा जाँदा सामान किन्न प्रयोग हुने कपडाका झोला बनाउने, अगरबक्ति बनाउने लगायतका तालिम दिएकी थिइन् ।
यस्तै स्वास्थ्यका क्षेत्रमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ । बझाङ जस्तो दुर्गम जिल्लामा गएर एक सातासम्म स्वास्थ्य शिविर सञ्चालन गरेको उनको अनुभव छ । अन्य प्रकारका विरामीलाई त्यही उपचार गराएको र अप्रेशन गर्नुपर्ने अवस्थाका विरामीलाई काठमाडौंमा ल्याएर पनि उपचार गराएर स्वस्थ बनाई घर फर्काउन सफल भएकी पोखरेलले बेला बेला अस्पतालमा रगत अभाव हटाउनका लागि रक्तदानको कार्यक्रम समेत गर्दै आएकी छिन् ।
उनको संयोजनमा हेटौडा, चितवन नवलपरासी, लगायत ३५ जिल्लामा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
काठमाडौं क्षेत्र नंबर २ अन्तर्गत रहेको शंखरापुर नगरपालिकालाई एउटा एम्बुलेन्स र स्वास्थ्य सामग्री उपलब्ध गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । हालसालै सो नगरपालिकाले एम्बुलेन्स पाएको छ ।
कोरोना माहामारीका कारण लकडाउन भएका बेला प्रहरीलाई खाना, पानीको व्यवस्था गरेकी थिइन भने झन्डै १५ सय टन खानेकुरा चामल, दाल, नुन, तेल लगायतका खाद्यबस्तु काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ, टोखा नगरपालिका, कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरेर वितरण गराएकी थिइन् ।
अत्यावश्यक सेवामा रहने ब्यक्ति तथा संस्थाहरुका लागि त्यो बेला उनले मास्क, ज्वरो नाप्ने थर्मल गन, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् ।
निर्वाचित भएर राजनीतिक लाभ हासिल गर्ने भन्दापनि जनतासँग हातेमालो गर्दै जनताको जीवनस्तर माथि उकास्ने, विकास निर्माणका कामलाई व्यवस्थित ढंगले अघि बढाउने योजना रहेको पोखरेल बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्