नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताएका छन् । बिहीबार काठमाडौंको लैनचौर ब्याङ्केटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो निर्वाचनमा प्रतिगमनकारी र अग्रगमनकारी आमने- सामने हुँदैछौँ । हामी चाहिँ अग्रगमनकारी हौँ । उतापट्टि अर्को समूह छ, जो प्रतिक्रान्तिकारीहरूको हो,’ प्रचण्डले भने ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका उनले आफूले गोरखाको विकासबारे सोचिरहेको बताए । आफू गोरखाले विगतमा लगाएको ऋण तिर्न गोरखाबाट चुनाव लड्न लागेको प्रचण्डको भनाइ छ । ‘नेपालको इतिहासमा गोरखाले लगाएको ऋण तिर्न म गोरखाबाट चुनाव लड्दैछु,’ उनले भने ।
उनले आफूले गोरखाबाट समृद्धिको यात्रा सुरु गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्