कार्तिक २३, काठमाडौं ।
तपाईहरुको घरदैलोमा कोही उम्मेदवार काँधमा साँच्चैको हलो बोकेर भोट आएका छन् भने पक्कै तपाईले चिन्नुभएको होला । उनी हुन काठमाडौंको शंखरापुर नगरपालिकाका स्थायी बासिन्दा राजु विष्ट जो राप्रपाका पुराना स्थानीय नेता हुन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फ कुन्तीदेवी पोखरेल चुनावी मैदानमा छिन् । सोही क्षेत्रको प्रदेश ‘क’ मा सुनिल केसी र प्रदेश ‘ख’ मा राजु विष्ट उम्मेदवार रहेका छन् ।
५३ बर्षका विष्ट २०४७ सालदेखि नै राप्रपामा आवद्ध रहेका छन् । आइ.ए सम्मको शिक्षा हासिल गरेका विष्ट पार्टी स्थापना भएको बेलादेखि नै साधारण सदस्य लिएर अघि बढेका हुन । काठमाडौं क्षेत्र नंबर २ का अध्यक्ष समेत रहेका विष्ट यतिबेला काठमाडांै क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ को उम्मेदवार रहेका छन् ।
पार्टीमा विद्यार्थी संगठन, युवक संगठन हुँदै राप्रपामा सक्रिया भएका उनी पहिलो पटक चुनावमा उठेका हुन् । विष्ट २०६१ सालमा राजाको शासनकालमा पुखुलाछी गाविस उपाध्यक्षमा मनोनित समेत भएका ब्यक्ति हुन् । सरल, शालिन व्यक्तित्व रहेका विष्ट समाजसेवामा समेत आवद्ध रहँदै आएका छन् ।

उनका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका सुवर्ण श्रेष्ठ र एकीकृत समाजवादीका उम्मेदवार भरतप्रसाद फुँयाल रहेका छन् ।
अन्य उम्मेदवार भन्दा आफूमा काम गर्ने जोश जाँगर रहेको बताउँदै अरु उम्मेदवार पहिलेपनि जनताले परिक्षण गरिसकेकोले यो पटक नयाँ उम्मेदवारलाई जनताले चयन गर्ने उनको विश्वास छ ।
उम्मेदवार विष्टले भने–‘मेरा प्रतिस्पर्धी उम्मेदवार जनताले परिक्षण गरिसकेका उम्मेदवार हुन् । जनप्रतिनिधि भएका बेला डाँडापाखा बेच्ने काम बाहेक अरु के नै काम गरे ? राप्रपाले शंखरापुरमा विजय हासिल गरेको ३ महिनामा नै जनताको मन छुने गरी, जनताले सुख पाउनेगरी काम गरेका छौँ । म निर्वाचित भएपछि पनि यो क्षेत्रको समग्र विकास निर्माणका साथै जनताको जिवनस्तर माथि उठाउने, जनताले पाउने सेवा सुविधालाई प्रभावकारी बनाउँने हिसावले काम गर्नेछु ।’
उनले आफ्ना एजेण्डाहरुमा काठमाडौंको कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकालाई पूर्वी काठमाडौंको नमुना पर्यटकीय स्थलको रुपमा विकास गर्ने, धार्मिक, मूर्त–अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्ने, किसानका लागि समयमा मल बिउ उपलब्ध गराउन पहलकदमी लिने, जनतालाई स्वास्थ्य, शिक्षा सर्वसुलभ रुपमा उपलब्ध गराउँन मरिमेटेर लागीपर्ने विष्टको भनाई छ ।
उनले आफ्नो जितको आधार शंखरापुरमा राप्रपाले गरेको उदाहरणीय काम, राप्रपाले बोकेका एजेण्डाहरु संवैधानिक राजसंस्था, हिन्दू राष्ट्र नेपाल, भष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउने विषय रहेको उल्लेख गरे ।

उनले भने–‘यो क्षेत्रको विकासका लागि, यहाँका जनताको जिवनस्तर उकास्नका लागि, हाम्रो धर्म संस्कृति संरक्षणको लागि म नै विजयी हुनुपर्छ भनेर भगवानजस्ता हाम्रा मतदाताले मलाई विजयको आर्शिवाद दिनुभएको छ । म नयाँ उम्मेदवार हुँ । मैले हिजोका दिन कुनै पदमा बसेर डाँडाकाँडा मास्ने काम गरेको छैन । यो क्षेत्रको भलाई र उन्नतीका लागि जनताले मलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
विष्ट यतिबेला कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका लगायतका क्षेत्रमा प्रतिनिधि सभाका लागि राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलसँगै घरदैलो अभियानमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्