कागेश्वरी र शंखरापुरको समग्र विकासका लागि मेरो उम्मेदवारी : राप्रपाका राजु विष्टसँगको कुराकानी

नयाँ पोस्ट
नयाँ पोस्ट २४ कार्तिक २०७९, बिहीबार
पढ्न लाग्ने समय 9 मिनेट
Aa

काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा “ख” मा उम्मेदवारी दिनुभएका राप्रपा काठमाडौँ क्षेत्र नं. २ का अध्यक्ष राजु विष्टको जन्म २०२६ सालमा पिता स्व. कमलबहादुर विष्ट एवं आमा मिश्रीमाया विष्टको पहिलो सन्तानको रुपमा जन्म भएको हो ।
उहाँ २०४७ सालमा राप्रपाको स्थापनाकालदेखि सुन्टोल गाउँ ईकाई सदस्यको रुप्मा राप्रपामा कार्यरत रहनुभयो । त्यसपछि २०५२ सालतिर राप्रपाको युवक संगठनको क्षेत्रिय सभापति हुनुभयो । उहाँ पछि २०६३ सालमा कमल थापाको पार्टी राप्रपा नेपालमा काठमाडौँ क्षेत्र नं. २ को सभापतिका रुपमा रहनुभयो । उहाँ अहिले पनि राप्रपाको काठमाडौँ क्षेत्र नं. २ को सभापतिको जिम्मेवारीमा हुनुहन्छ । उहाँ केही समय तत्कालीन सुन्टोल गाविसको उपाध्यक्षका रुपमा समेत काम गर्नुभएको थियो ।

पहिलोपटक प्रदेशसभाको चुनाव लड्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ?
यो चुनाव मेरो लागि उम्मेदवारको रुपमा नयाँ भएतापनि पहिल्यैदेखि पार्टीको कामको सिलसिलामा निर्वाचनको माहौलमा हिँडिरहेको हुँदा आफै चुनावमा उठ्दा झनै रमाईलो लागिरहेको छ । र आदरणीय देवी देवता सरहका मतदाताको आशिर्वादा पाउँदा झनै खुशी लागेको छ । बिहानदेखि बेलुकीसम्मै म रमाईलोसित चुनाव प्रचारमा लागेको छु ।

तपाइँले बहुचर्चित काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा “ख” बाटै उम्मेदवारी दिनुको कारण के होला ?
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको छुट्टै पहिचान रहेको र हाम्रो पार्टीका माननीय राजेन्द्र लिङदेनको कारण पार्टीको छवी उजिलिएको (राम्रो भएकोे) छ । यो क्षेत्र २०४६ साल पछि जहिल्यै पनि त्रिकोणात्मक भिडन्तको अवस्थामा रहेको र राप्रपाको यस क्षेत्रमा ७–८ हजार मतदाता रहेको क्षेत्र हो यो । यसपटक भने राप्रपाले शंखरापुर नगरपालिका जितेपछि हामीलाई अझै सहज भएको छ । यसको असर कागेश्वरी मनोहरा नगरपालिकामा पनि परेको हुँदा यो प्रदेश हामी सजिलै जित्छौँ जस्तो लाग्छ ।

काठमाडौँ जिल्लामा कसैसँग तालेमल भएको छ कि ?
काठमाडौँ जिल्लामा हाम्रो पार्टीको कसैसित तालमेल भएको छैन । तर झापा, बुटवल, नेपालगञ्जमा भने हाम्रो पार्टीका नेकपा एमालेसँग तालमेल भएको छ ।

भर्खरै सम्पन्न स्थानीय निकायको चुनावमा शंखरापुर नगरपालिकामा राप्रपाले र कागेश्वरी मनहरा नगरपालिका नेपाली काँगे्रसले विजय हासिल गरेको थियो । अहिले गठबन्धनको मत यस प्रदेशमा करीब १६ हजार भन्दा बढी छ तपाइँहरुसँग यो प्रदेशमा जम्मा ६ हजार पनि मत छैन अनि तपाइँको जीत कसरी हुन्छ ?

हरेक वर्ष मतदाताको मन परिवर्तन भएको छ । साथै यहाँका मतदाताले युवा र नयाँ व्यक्ति खोजको छ । यस क्षेत्रमा कहिले कुन पार्टीको कहिले कुन पार्टीको जीत भएको छ । शंखरापुर नगरपालिका त हामीले मेयर जितेको ठाउँ भैहाल्यो । यसको असर कागेश्वरी मनोहरा नगरपालिकामा पनि परेको छ । साथै कागेश्वरी मनोहरा नगरपालिकाको ६ वटै वडामा मेरो राम्रो सम्बन्ध रहेको हुँदा म यो प्रदेश सभा सदस्यको चुनावमा जीत निकाल्छु भन्ने कुरामा विश्वस्त छु । चुनाव प्रचारका क्रममा पनि मैले राम्रो अनुभव गरेको छु ।

अन्य पार्टीका उम्मेदवारहरुमध्ये तपाइँको निकटतम प्रतिस्पर्धी को होला ?
अहिले साँच्चिकै भन्दाखेरि नेकपा एमालेका सुवर्ण श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका भरत फुयाल नै मेरो निकटतम प्रतिस्पर्धी हो तर यि दुई उम्मेदवारमध्ये कुनचाहिँ एकजनासँग मैले निकटतम प्रतिस्पर्धा गर्छु भन्न सकिरहेको स्थिति छैन । उहाँहरु दुवैको गाविस अध्यक्ष हुँदाको कार्यशैली र सुवर्ण श्रेष्ठ मेयर भएर एक कार्यकाल बिताउँदाको कार्यशैली मतदाताले हरिसकेका छन् । त्यसैले आम जनताले मलाई मत दिएर टेस्ट गर्नेछन् भन्नेमा म बिश्वस्त छु । साथै केही समय तत्कालिन सुन्टोल गाविसको उपाध्यक्षमा रुपमा काम गर्दा गरेको आम जनताको सेवा र त्यत्तिबेला जनताको पक्षमा गरेका कार्यहरु पनि मेरोलागि सहयोगी हुनेमा म बिश्वस्त छु ।

तपाइँहरुले बहुदल र संघियताको प्राप्ती पछि यस क्षेत्रमा कहिल्यै जित्नुभएको छैन, अहिले जित्ने आधार चाहिँ के हो मतदातालाई भनिदिनुस् न !
हो यस क्षेत्रमा राप्रपाले २०४७ देखि अहिलेसम्म कहिल्यै पनि चुनाव जित्न नसकेकै हो । तर यसपटक हामीले शंखरापुरको मेयर जितिसकेपछि भने आम जनताले राहतको महसुस गरेका छन् । शंखरापुर नगरपालिकामा गठबन्धनविरुद्ध राप्रपा एक्लै चुनाव लड्दा पनि यहाँ देवी देवता सरहका मतदाताले यसपाली राप्रपालाई जिताउनुपर्छ भनेर जिताएका छन् । साथै कागे्श्वरी मनोहरा नगरपालिकाका मतदाताले पनि हामीसँगको भेटमा यसपटक राप्रपाका उम्मेदवारलाई जिताएर हेरौँ भनिरहेका छन् । हामीले शंखरापुर नगरपालिकामा गरिरहेको कामबाट सन्तुष्ट भएर नै आम जनताले हामीलाई मत दिनेमा बिश्वस्त छु । यही नै हाम्रो जीतको आधार हो ।

राप्रपाले स्थानीय निर्वाचनमा शंखरापुरको तीन वटा वडा र मेयर पदमा त्यहाँ अहिले तपाइँहरुको स्थानीय तहको घोषणापत्र कार्यान्वयनको अवस्था के कस्तो पाउनुभएको छ ?
हामीले शंखरापुर नगरपालिकाको चुनावमा देवी देवता सरहका मतदातामा जुन प्रतिवद्धता गरेका थियौँ । त्यो हो प्रमुख रुपमा शिक्षा, स्वास्थ्य र खानेपानी । हामीले यस विषयमा सय दिन भित्रैमा कार्यान्वयनको काम थालनी गरेकाछौँ । तर यसको व्यापक प्रचार प्रसार नभएको हुँदा आम जनताले थाहा पाईरहेका छैनन् । खानेपानीको समस्या विषयमा साँखुको खानेपानीको उदाहरण लिए पर्याप्त छ । यहाँ हाम्रा साथिहरुको टीमले काम गरिरहेको छ । यहाँ अहिले काठमाडौँ जिल्लाको पूर्वी भेगमै सबैभन्दा राम्रो र सफा पानी खुवाईरहेको छ । अहिले साँखु बजारमा ४/५ तल्लासम्म मेशीनको प्रयोग विनै पानी माथि जाने भएकोले यहाँ अहिले मेशीनको प्रयोग गर्नै नपर्ने भएको छ । यही ठाउँमा खानेपानीको काम अन्य दलहरुले १३ वर्षसम्म पनि यो कार्य गर्न सकिरहेको थिएन ।

स्वास्थ्य तर्फ हामीले सुषमा मेमोरियल ट्रस्टसँगको सहकार्यमा ७ वटा शीर्षकका विभिन्न उपचारहरु पूर्णरुपमा निशुल्क र ११ वटा शीर्षकका उपचारहरुमा ३० देखि ६० प्रतिशतसम्म छूट दिएर आम जनतालाई सेवा दिएका छौँ ।

एम्बुलेन्स सेवामा पनि ६० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई र सुत्केरी भएका महिला दिदी बहिनीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेका छौँ । साथै शववाहन समेत निशुल्क बनाएका छौँ ।

शिक्षातर्फ यसवर्ष कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई भर्ना शुल्क देखि सबै शुल्कहरु निःशुल्क बनाएका छौँ भने अर्को वर्ष १२ कक्षा समेत निःशुल्क बनाउनेछौँ । हामी नीति बनाएरै नै केही समयपछि स्नातक तह पढ्ने महिला विद्यार्थीहरुलाई ल्यापटप बाँड्ने छौँ ।

तपाइँ र तपाइँको पार्टी राप्रपाबाट यस प्रदेशका जनताले के आशा गर्न सक्छ ?
मतदाताहरुले हामीसँग त्यत्ति धेरै ठूलो आशा गरेका हुन्नछ् तर पनि म प्रदेश सभा सदस्य जितेपछि भने शंखरापुर नगरपालिकाको दुईवटा वडा जित्दा हामीले जस्तो स–साना विकास निर्माणका कामहरु गरेर पनि आम जनतामा आशाको सञ्चार गर्न सकेका थियौँ । त्यसरी नै यस प्रदेशमा रहेको शंखरापुरका ९ वटै वडाहरु र कागेश्वरी मनोहराका ६ वटै वडाहरुमा आम जनताको मन छुने काम गर्छु भन्ने बिश्वास दिलाउन चाहन्छु ।

यस वर्षको मतदाता नामावलीमा १८ देखि २५ वर्षका उमेर समूहमा देखिएको पुरुष मतदाता र महिला मतदाताको संख्यामा आएको फरकपनले महिलाहरुको संख्या घट्दै गएको देखाउँछ । यो भयावह स्थिति हुनसक्छ । यसतर्फ के गर्नुपर्ला जस्तो छ ?
यस्तो हुनुको प्रमुख कारण भनेको भ्रुण हत्याको कारण हो । त्यसैले अहिले जुनसुकै क्लिनिक वा स्वास्थ्य संस्थामा गएर गर्भपतन गर्न पाउने कानुनी व्यवस्था संशोधन गरी अति आवश्यक अवस्थामा महिलाको मृत्यु हुन सक्ने अथवा अरु कुनै ठूलै अप्ठेरो आउन सक्ने अवस्थामा बाहेक गर्भपतनलाई रोक्नु आवश्यक छ ।

युवाहरुलाई बेरोजगारीबाट मुक्त गरि विदेश पलायनलाई न्यून गर्न के कस्तो योजना अगाडि सार्नुहुन्छ ?
बेरोजगार युवा र महिलाहरुलाई हामीले विभिन्न सीपमूलक तालिमहरु दिनेछौँ जसमा ब्यूटी पार्लर तालिम, सिलाई बुनाई तामिल, कृषि सम्बन्धी तालिम, सिटिईभिटी अन्तर्गतका विभिन्न तालीमहरु सञ्चालन गरेरै बेरोजगार युवा युवतीहरुको समस्या हल गर्छौँ ।

अन्त्यमा यस प्रदेशका मतदाता एवं हाम्रा पाठकहरुलाई केही भन्न चाहनुहुन्छ कि !
लावण्य सद्येश साप्ताहिकलाई सबैभन्दा पहिले धन्यवाद ! म शंखरापुरबासी र कागेश्वरी मनोहरा नगरबासीहरुमा एउटै अनुरोध गर्न चाहन्छु कि मलाई एक पटक सेवा गर्ने मौका दिनुहोस् । आदरणीय मतदाताहरुले ४ वटै छाप हलो चिन्हमा मतदान गरेर राप्रपालाई एकपटक काम गर्ने अवसरमा दिनुस् भन्न चाहन्छु । देवी देवता सहरका मतदाताहरुमा म सम्पदा संस्कृति पे्रमी (साँखु बजारको लाखे नाच, पायः नाच, बमन नाच लगायत) साँखुबासीले आफ्नो संस्कृति परम्परामा समेत सहभागी हुन बिश्वास गर्दै अपनत्व प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै मंसिर ४ गते ४ वटै छाप हलो चिन्हमा मतदान गरी मलाई र मेरो पार्टीलाई जिताईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
हामीले शंखरापुर नगरपालिकाको चुनावमा देवी देवता सरहका मतदातामा जुन प्रतिवद्धता गरेका थियौँ । त्यो हो प्रमुख रुपमा शिक्षा, स्वास्थ्य र खानेपानी । हामीले यस विषयमा सय दिन भित्रैमा कार्यान्वयनको काम थालनी गरेकाछौँ । तर यसको व्यापक प्रचार प्रसार नभएको हुँदा आम जनताले थाहा पाईरहेका छैनन् । खानेपानीको समस्या विषयमा साँखुको खानेपानीको उदाहरण लिए पर्याप्त छ ।
लावण्य सन्देशबाट साभार

प्रतिक्रिया दिनुहोस्