-अप्सरा स्वप्निल
बिहानै हिमालबाट उदाएको घाम झैँ
न देखाउन सकिन्छ
क्षितिज रातो पार्दै साँझ पश्चिमबाट अस्ताए झै
न लुकाउन सकिन्छ
रातभरी कलिला पातहरुमा झरेका
सितका ढलपल–ढलपल थोपाहरुझै
आँखाभरि, मनभरि थन्किएका
बेदनाका आँशुहरु-बेदनाका घाउहरु
जसरी हावाको झोक्काहरुले आकाशमा
यता उता घुमाइरहन्छ बादलका टुक्राहरुलाई
त्यसरी नै बन्दै छु म
एक गन्तव्य विहीन यात्री
संगालेर राखेका आँशुका थोपाहरु
लाग्छ पोखिदिँउ सबैका सामु
तर त्यो बनिदिन्छ किन ?
अरुको लागि ताप्ने आगो
भन्छौं नि तिमी त हाँसेर बाच्नु पर्दछ
तर म भन्छु
आँसु पिएर पनि हाँस्नु पर्दौ रहेछ
सायद जिन्दगीका मोडहरु
बनेका हुन चोटहरुसँग लड्नका लागि
अनि
अनेकै घाउहरुसँग बाँच्नका लागि
पाइला चालेरै पनि
गन्तब्य हराएरै पनि त बन्दोरहेछ एक जिन्दगी
मैले खुसीहरुको माला लगाईदिए
कहाँ बोल्छ देवता भनिएको मुर्ति
मैले पिरहरुको थुङ्गा चढाईदिँए
कहाँ सुन्छ मुर्ति
कहाँ सुन्छ मान्छे
मुर्ति र मान्छेको मन
केवल दर्शक मात्र हुन
जो
रमिता हेरेर बसिरहन्छन्
जिन्दगीको रंगमञ्चमा
३ पौष २०७९
काठमाडौं ।
प्रतिक्रिया दिनुहोस्