एक महिने सालीनदी मेला व्यवस्थापनमा जुट्यो शंखरापुर नगरपालिका

नयाँ पोस्ट
नयाँ पोस्ट १३ पुष २०७९, बुधबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

पुस १३, काठमाडौं ।
एक महिने शालीनदी मेला सुरु हुनै लाग्दा शंखरापुर नगरपालिका तयारीमा जुटेको छ । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा हरेक बर्ष लाग्ने सालीनदी मेला व्यवस्थापनको तयारीमा नगरपालिका जुटेको हो । पुस २२ गतेदेखि शुरू हुने माधव नारायण श्रीस्वस्थानी व्रत तथा शालिनदी मेला ब्यवस्थापनका लागि नगरपालिकाले विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । बुधबार मेला तयारीका लागी नगरपालिकाले विभिन्न सम्बन्धित पक्षहरु, राजनैतिक दलका प्रतिनिधीहरु तथा स्थानियबासीसँग छलफल गरेको हो ।
छलफलमा नगरप्रमुख रमेश नापितले मेलालाई व्यवस्थित बनाउँनका लागि विभिन्न सरोकारवाला पक्षहरुलाई आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक पालना गरेर काम गर्न निर्देशन दिएका छन् ।
छलफलमा सालीनदी मेलामा यातायात व्यवस्थापन, शान्तिसुरक्षा, फोहोरमैला व्यवस्थापन, जिम्मेवारी वाडफाँड, स्वास्थ्य मापदण्ड पालना लगायतका विषयमा छलफल भएको नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले यो मेला शंखरापुरको पहिचानसँग जोडिएको बताउँदै यसको व्यवस्थापनमा चुनौती समेत रहेकोले यससँग सम्बन्धीत सबै क्षेत्रका प्रतिनिधीहरुसँग छलफल गरिएको बताए । यसपाली वेल म्यानेजमेन्ट र वेल प्लानका साथ मेला व्यवस्थापन गरिने पनि उनले जानकारी दिए ।
छलफल कार्यक्रममा बोल्दै शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी बासुदेव खनालले सालीनदीमा मेला भर्न देशभित्रबाट मात्रै नभई देशबाहिरबाट समेत ठुलोमात्रामा पर्यटक आउने उल्लेख गर्दै मेलालाई कसरी सभ्य एंवम् व्यवस्थित बनाउने बारेमा छलफल कार्यक्रम राखिएको बताए ।

कोभिडको त्रास फेरी देखिन थालेको र मेलाको लागि समय पनि कम रहेको बताउँदै खनालले यसका लागी नगरपालिकाका सबै क्षेत्रको सहयोगको आवश्यकता पर्ने बताए ।
त्यस्तै प्रहरी प्रभाग साँखुले मेलाका लागी सुरक्षा योजना तयार रहेको जनाएको छ । प्रभागका इस्पेक्टर जनक पुरीले सुरक्षा योजना तयार बनाएर प्रहरी बसेको बताएका हुन् । उनले मेलाका लागी थप ४५ जना सुरक्षाकर्मी बोलाईएको पनि कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले मेलामा यातायत व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य समस्या, खानेपानी, शौचालय, अव्यवस्थित बजार लगायतका समस्याहरु रहेको र समाधानका सुझाव प्रस्तुत गरेका थिए ।
मेलामा पिपल्स लाईफ हस्पिटल, लायन्स क्लब तथा नगरपलिकाले स्वास्थ्य सिविर राख्ने कार्यक्रममा उपस्थिती प्रतिनिधीहरुले जानकारी दिए ।
छलफलमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानिय व्यवसायीहरु, यातायात व्यवस्थापन समिती, प्रहरी, सामाजिक संघ सस्थालगायतको प्रतिनिधित्व रहेको थियो । सालिनदी मेला यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्