पुस १५, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक बर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी ब्रत तथा १ महिने सालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने ब्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालिनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिएका छन् ।
व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश ९पशुपति, फर्पिङ, पनौति र चाँगुनारायण स्थान० लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट सक्व क्रु लगायत बन्दोबस्तीका सामान सहित स्वयमसेवकहरु परिचालित गर्ने बताएका छन् ।

साँखु सालीनदी पुग्नका लागि पर्याप्त बसहरुको व्यवस्था गर्ने, प्रत्येक गाडीमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि सालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ ।
यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरु सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाख सम्म धार्मिक पर्यटक आउने सालीनदी सुधार समितिले अपेक्षा लिएको छ । सालीनदीमा परापूर्वकालदेखि १ महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।
मेला व्यवस्थापनलाई प्रभावकारी बनाउँन यसअघि शंखरापुर नगरपालिकाले छलफल गरेको थियो । मेलालाई ब्यवस्थित बनाउँनका लागि नगरप्रमुख रमेश नापितले सरोकारवाला पक्षलाई आफ्नो जिम्मेवारी अनुसार काम पूरा गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्