शंखरापुरको समृद्धिका लागि संयुक्त प्रयास आवश्यक : प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल

नयाँ पोस्ट
नयाँ पोस्ट २९ पुष २०७९, शुक्रबार
पढ्न लाग्ने समय 6 मिनेट
Aa

पुस २८, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नगरपालिकाको समृद्धिका लागि एकल प्रयासले संभव नहुने भन्दै संयुक्त प्रयासमा अघि बढ्न जोड दिनुभएको छ । बिहिबार शंखरापुरको इन्द्रायणीमा भएको ८ औं नगरसभा समारोहमा बोल्दै खनालले निर्वाचित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु तथा सरोकारवाला पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले नगरपालिकाले शिक्षा सम्बन्धी बिधेयक, नगरप्रहरी सम्बन्धी बिधेयक र कृषि तथा पशुपंक्षी सम्बन्धी बिधेयकलाई अघि बढाएर ऐनको रुपमा अभ्यास गर्न लागेको जानकारी दिनुभयो ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत खनालले दिनुभएको मन्तब्य :

सरकार भन्ने वित्तिकै त्यहाँ शासकीय शक्ति, कानुन बनाउँने शक्ति र कानुन उल्लंघन भएको बेलामा त्यसलाई दण्डित गराउन सक्ने शक्ति अर्थात ३ वटै शक्ति भएको अवस्थमा मात्र हामी त्यसलाई सरकारको रुपमा बुझ्न सक्छौँ । संघीयता कार्यान्वयनसँग संविधानले प्रत्याभूत अनुसार स्थानीय तहलेपनि स्थानीय सरकारको अभ्यास गरिरहेको छ ।
संविधानको अनुसूची ८ र ९ मा उल्लेखित एकल र साझा अधिकार सूचीमा रहेका प्रावधानहरुलाई अभ्यास गर्नका लागि हामीले बिधेयकहरु ल्याएका छौँ । केही कानुनका मस्यौदाहरु ल्याएका छौँ । जसको बारेमा बन्दसत्रमा छलफल अघि बढ्नेछ । त्यसलाई पारित गरेर हामीले ऐनको रुपमा अभ्यास गर्नेछौँ ।
स्थानीय तह त्यतिबेलामात्र बलियो हुन्छ जतिबेला हामीले आफ्नो अधिकार क्षेत्रका बारेमा कानुन बनाउँछौँ । कानुनले हामीलाई शक्ति दिन्छ, संरक्षण दिन्छ र काम गर्ने कार्यसोपान अर्थात कार्यप्रक्रिया निश्चित गर्दछ । यी कुरा पाउँनका लागि पनि हामीले कानुन बनाउँन जरुरी छ ।
कानुन बनाउँने विषय अत्यन्तै बहुआयामिक र धेरै सरोकारवालाहरुको साझा विषय, धेरैसँग अन्तरक्रिया समन्वय गरेर गर्नुपर्ने विषय हो । हामीले हाम्रा अनुभवले, हाम्रो ज्ञानले र हाम्रो विवेकले भ्याएसम्म यहाँका विभिन्न सरोकारवालासँग औपचारिक र अनौपचारिक हिसावले हाम्रा विधि निर्माण गर्दा अर्थात विधेयकहरु तयार गर्दा यहाँहरुसँग अन्तरक्रिया र समन्वय गरेका छौँ । हामीले केही विधेयकहरु ल्याएका छौँ, उदाहरणको रुपमा नगरपालिकाको शिक्षा सम्बन्धी बिधेयक २०७९, नगर प्रहरी विधेयक २०७९, त्यस्तै कृषि तथा पशुपंक्षी सम्बन्धी बिधेयक र केही महत्वपूर्ण प्रस्तावहरुपनि प्रस्तुत गर्र्दैछौँ । नगरसभामा बहस पैरवी गरेर यससम्बन्धी निर्णय हुनेछन् ।

यसले स्थानीय तहलाई संस्थागत गर्ने, स्थानीय तहको संविधान प्रद्धत्त अधिकारलाई अभ्यास गर्ने कुरामा एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा सावित हुनेछ भन्ने नगरपालिकाको बुझाई छ ।
म शंखरापुर नगरपालिकामा आएको करिब ३ महिना मात्र भएको छ । मैले यहाँको आर्थिक, सामाजिक, भौगोलिक अथावा जनजिवनको बारेमा ब्याख्या गर्नु यहाँहरुको अगाडि अतिसयोक्तिपूर्ण हुन्छ होला । यद्यपी हाम्रो माझमा संघीय र प्रदेश सभाका माननीय सदस्यज्यूहरु पनि हुनुहुन्छ, हामीले उहाँहरुलाई स्वागत गरेर यहाँ आमन्त्रण गरिरहँदा यहाँको लागि जिम्मेवारी लिन र भूमिका खेल्नपनि आमन्त्रण गरेका हौँ ।
यहाँको भौगोलिक बनोट अर्थात यहाँको ३ वटा वडाहरु समतल भूभागमा रहेका छन् । त्यसबाहेक अरु ६ वटा वडाहरुको भूगोल बाह्रै महिना सवारी जाने सडक पु¥याउनपनि नगरपालिकाको चुनौतीको विषय रहेको छ । शिक्षा स्वास्थ्य रोजगारी आर्थिक सामाजिक विषय, गरिवी निवारणका विषयहरु, शिक्षा स्वास्थ्यका विषयहरु हेर्दा अझैपनि काठमाडौकै नगरपालिका हो भनेर हामीले गर्व गर्ने अवस्था छैन । चाहे त्यो आर्थिक परिसूचकहरु होउन, पूर्वाधारका परिसूचकहरु होउन वा सामाजिक परिसूचकहरु होउन, राजधानीकै पालिका हौँ भनेर गर्व गर्न लायक परिसूचकहरु छैनन् । एउटा सम्पन्न नगरपालिका बनाउँनका लागि एकल प्रयासले मात्र संभव छैन । शंखरापुरमा निर्वाचित जनप्रतिनिधि अथवा यहाँ कार्यरत कर्मचारीको मात्र एकल प्रयासले संभव हुँदैन ।
यहाँका हिजोका जनप्रतिनिधिज्यूहरुका अनुभव, आजका जनप्रतिनिधि ज्यूहरुका उर्जा र सम्पूर्ण सरोकारवालाहरुको आपसी सदभाव र सहकार्य, अन्तरक्रिया र समन्वयबाट नै नगरपालिकाले राखेको बिकास, समृद्धि र सुशासनको अभिष्ट पूरा गर्न संभव छ । यस हिसावले सम्पूर्ण जनप्रतिनिधि ज्यूहरुलाई, प्रतिनिधि सभा सदस्य ज्यूहरु, प्रदेश सभा सदस्य ज्यूहरु, निवर्तमान जनप्रतिनिधि ज्यूहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, सिंगो नगरपालिकाको तर्फबाट के निवेदन गर्न चाहन्छौँ भने नगरपालिकाका यहाँहरु सबै एकाकार भएर, साझेदार भएर, सहकार्य गरेर त्यो दृष्टिकोणबाट अघि बढ्न चाहन्छ ।
हाम्रा अहिलेका नगर प्रमुख, नगर उपप्रमुख, सम्पूर्ण वडाध्यक्ष ज्यूहरु र सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, यहँका सम्पूर्ण सरोकारवाला ज्यूहरुलाई संघसंगै सहयात्रीको रुपमा अघि बढ्न सोच छ । यहाँका सम्पूर्ण राजनीतिक तथा सामाजिक अगुवाहरु यहाँको समृद्धि र विकासमा एकाकार भएर एउटा हिस्सेदार भइदिनुहुन नगरपालिकाको तर्फबाट विनम्र अनुरोध गर्न चाहन्छु ।


शंखरापुर नगरपालिकाको अँध्यारो पाटोमात्र छैन यहाँ प्रस्तत संभवानहरु छन् । ऐतिहासिक पर्यटनको हिसावले, पर्या–पर्यटनको हिसावले, कृषिको हिसावले प्रचुर संभावनाहरु छन् । यी संभावनाहरुको बारेमा पर्याप्त बहस पैरवीहरु गर्न र हाम्रा समस्याका विषयमा चिन्तन मनन गर्न यो भन्दा विशिष्ट जमात अरु हुन सक्दैन । हाम्रा आफ्ना विभिन्न मतभेदहरु पनि हुनसक्छन्, ति फरकपनाहरुलाई एकठाउँमा राखेर सिंगो शंखरापुर नगरपालिकाको समृद्धिका लागि हामी एकजुट हुनेछौँ र एकाकार हुनेछौँ । त्यो हिसावले अगाडि बढ्ने कुरामा आजको यो नगरसभाले हामी सबैलाई प्रेरणा दिनेछ । त्यो खालको सद्भाव र सहयोग यहाँहरुबाट प्राप्त भइनैरहनेछ । भोलीका दिनमा पनि यहाँबाट फराकिलो सहयोग प्राप्त हुनेछ भन्ने नगरपालिकाको तर्फबाट विश्वास लिएका छौँ ।


अन्त्यमा यी सबै हाम्रा विकासका आवश्यकताहरु, आर्थिक विकास, सामाजिक विकासका आवश्यकताहरु, पूर्वाधार विकासका आवश्यकताहरु असिमित छन् । भूगोलको संरचना, हाम्रो सामाजिक बनोटको हिसावले हाम्रा आवश्यकताहरु असिमित छन् । तर स्रोत परिचालनको हिसावले हामी अत्यन्तै साँघुरो छौँ । त्यस हिसावले स्रोत परिचालनको दायरा फराकिलो बनाउँन यहाँका निजी क्षेत्र, संघ संस्था र यहाँका विभिन्न सरोकारवालाहरुले पनि यो शंखरापुर नगरपालिका बलियो हुने, यहाँको स्रोत परिचालन बलियो हुनु भनेको सिंगो शंखरापुर नगरपालिका बलियो हुने हो भन्ने हिसावले राजस्वको दायरा, स्रोत परिचालनको दायरालाई फराकिलो गर्ने हिसावले पनि यहाँहरुले सहकार्य गर्नुहुनेछ भन्नेपनि मैले शंखरापुर नगरपालिकाको तर्फबाट विश्वास लिएको छु । यो विकास र समृद्धिको बहसलाई हामी अझै बिस्तृत गर्दै जानेछौँ । हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै आउनुभएकोमा प्रतिनिधि सभा सदस्य शोविता गौतम, प्रतिमा गौतम लगायतलाई सबैलाई स्वागत गर्दै बिदा हुन चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्