माघ ११, काठमाडौं ।
राप्रपाबाट निर्वाचित बागमति प्रदेश सांसद राजु विष्ट बन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित विष्ट २०२६ साल असार २३ गते काठमाडौंको साँखु, सलम्बुटारमा पिता कमलबहादुर विष्ट र माता तिलकुमारी विष्टको कोखबाट जन्मिएका हुन् । आई.ए.सम्मको अध्ययन गरेका विष्टले २०४९ सालदेखि राप्रपाको राजनीति थालेका थिए ।
५३ बर्षका विष्ट २०४७ सालदेखि नै राप्रपामा आवद्ध रहेका थिए । आइ.ए. सम्मको शिक्षा हासिल गरेका विष्ट पार्टी स्थापना भएको बेलादेखि नै साधारण सदस्य लिएर अघि बढेका हुन । काठमाडौं क्षेत्र नंबर २ का अध्यक्ष समेत रहेका विष्टले गत प्रदेश सभा निर्वाचनमा १२ हजार १७२ मत पाएर एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठलाई ३ हजार ७३ मतान्तरले पराजित गरेका थिए ।
पार्टीको विद्यार्थी संगठन, युवक संगठन हुँदै राप्रपामा सक्रिय भएका उनी पहिलो पटक चुनावमा उठेका थिए । सरल, शालिन व्यक्तित्व रहेका मन्त्री विष्ट समाजसेवामा समेत क्रियाशील रहँदै आएका छन् ।
उनले निर्वाचनका बेला शंखरापुर र कागेश्वरी मनोहरा क्षेत्रलाई पूर्वी काठमाडौंको नमुना पर्यटकीय स्थलको रुपमा विकास गर्ने, धार्मिक, मूर्त–अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्ने, किसानका लागि समयमा मल बिउ उपलब्ध गराउन पहलकदमी लिने, जनतालाई स्वास्थ्य, शिक्षा सर्वसुलभ रुपमा उपलब्ध गराउँन मरिमेटेर लागीपर्ने प्रतिबद्धता जनाएका थिए । आफूले गरेको प्रतिबद्धता अनुसार मन्त्री विष्टले कसरी काम गर्छन त्यो भने हेर्न बाँकी छ ।
काठमाडौंको साँखु क्षेत्रबाट प्रतिनिधित्व गर्ने राप्रपा नेता जोगमेहेर श्रेष्ठ विगतमा मन्त्री भएका थिए । जोगमेहेरले जग बसाएको राप्रपाको बलियो आधार क्षेत्र साँखुबाट मन्त्री हुन सफल विष्टले जोगमेहेर श्रेष्ठको विरासत जोगाउन सफल भएका छन् ।
शंखरापुरका राजु विष्ट भए बनमन्त्री : जोगमेहेरको विरासत जोगाउन सफल विष्टको यस्तो छ जिवनी

प्रतिक्रिया दिनुहोस्