फागुन ११, काठमाडौं ।
शंखरापुर नगरप्रमुख रमेश नापितले केही मिडियामा ‘श्रीमतीलाई बन्धक बनाएको, घरेलु हिंसा गरेको’ भन्दै प्रकाशन भएको समाचारको खण्डन गर्नुभएको छ ।
यही फागुन ८ गते र १० गते केही मिडियामा प्रकाशन भएको समाचारले जनमानसमा भ्रम सिर्जना गरेको भन्दै उहाँले आफूले श्रीमतीलाई बन्धक नबनाएको र घरेलु हिंसा पनि नगरेको प्रष्ट पार्नुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नापितले बरु श्रीमती सरिता महर्जनले बिहे गरेको १५ दिनपछिदेखि नै महंगा चिजबिजहरुको माग गर्ने गरेको, माग पूरा नभएमा झगडा गर्ने लगायतका गतिविधि गर्दै परिवारमा मानसिक तनाव सिर्जना गर्दै आएको उल्लेख गर्नुभएको छ ।
पहिलो श्रीमतीको निधनपछि एकल जिवन विताउँदै आउनुभएका नापितको आफ्नो भाउजुको नाता समेत पर्ने सरिता महर्जनसँग गत असारमा बिहे भएको थियो । नगरप्रमुखमा निर्वाचित भएपछि महर्जनले नै बिहेको प्रस्ताव लिएर आएपछि उहाँसँग बिहे भएको तर बिहे गरेको केही दिनपछि नै कार, सुनका महंगा गरगहनाहरु माग गर्ने र सो माग पूरा नगरिदिएपछि झगडा गर्ने, तनाव सिर्जना गर्दै आइरहेकोमा फागुन ८ गते कपोलकल्पित, झुटो आरोप लगाएर राष्ट्रिय महिला आयोगमा आफूविरुद्ध उजुरी गरेको मिडियाबाट थाहा पाएको मेयर नापितले उल्लेख गर्नुभएको छ ।
परिवारमा दिदी बिरामी रहेको, एक छोरा विदेशमा अध्ययनको क्रममा रहेको, अर्को छोरापनि कलेज पढ्दै रहेको बताउँदै आफू नगरपालिकाको काम र कार्यक्रमहरुमा सधै व्यस्थ हुने गरेको भन्दै श्रीमतीलाई बन्धक बनाउने, कुटपिट गर्ने, खानलगाउन नदिने भन्ने कुरा कपोलकल्पित, झुटो र आफूलाई बदनाम गराउन रचिएको काहानी भएको बताउनुभएको छ ।
उहाँले आफू सधै महिलामाथिको हिंसा, घरेलु हिंसाको बिरोधी रहेको बताउँदै कुनैपनि हिंसाको पक्षमा नरहेको उल्लेख गर्दै श्रीमती सरिता महर्जनमाथि कुनै अन्याय नगरेको बताउनुभएको छ ।
उहाँले पहिलो श्रीमतीको निधन भएको झन्डै ६ बर्षपछि परिवार ब्यवस्थित बनाउन महर्जनसँग बिहे गरेकोमा उल्टै आफूले पूरा गर्न नसक्ने विभिन्न मागहरु गर्ने, परिवारमा दुःख दिने काम गर्दै आएकोले आफू स्वंय पीडित हुन पुगेको बताउनुभएको छ । आरोप लगाउने सरिता मर्हजनले आफू बाहेक माइतीका आफन्त, अरु आफन्तजन तथा अन्य विभिन्न ब्यक्तिहरुलाई समेत विगतदेखि नै विभिन्न खाले दुःख दिदै आएको पछि आएर थाहा पाएको नापितले उल्लेख गर्नुभएको छ ।
साथै उहाँले केही सञ्चारमाध्यमका समाचारमा आएजस्तो आफूले बन्धक बनाउने, कुटपिट गर्ने कुरा झुटो र भ्रामक रहेको उल्लेख गर्दै त्यस्तो काम आफ्नो कल्पना बाहिरको कुरा भएको उल्लेख गर्नुभएको छ । उहाँले आफू महिला हिंसाको बिरोधी रहेको बताउँदै महिला आयोगमा गरेको उजुरीमा लगाइएको आरोप झुटो रहेको र त्यस्ता कपोलकल्पित अरोपमा विश्वास नगर्न सबैलाई आग्रह गर्दै आफूविरुद्ध जस्तो षडयन्त्र भएपनि नगरपालिकाको बिकास र समृद्धि तथा नगरबासीको हीतका लागि निरन्तर काममा खटिइरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
शंखरापुर नगरप्रमुख नापितद्धारा आफूबिरुद्धको समाचारको खण्डन : यस्तो छ वास्तविकता

प्रतिक्रिया दिनुहोस्