चैत ३, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले राजस्व सुधार सम्बन्धी विषयमा छलफल गर्दा नियमानुसार राजस्व संकलन, दर्ता, नविकरण गर्न नगरपालिका, राजनीतिक दल एवं सरोकारवाला सम्मिलित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार नगरपालिकाका मेयर रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, नगरपालिका भित्र रहेका राजनीतिक दलका प्रतिनिधीहरु, नगरपालिकाका कर्मचारी तथा सरोकारवालाहरुको उपस्थितीमा भएको राजस्व सुधार सम्बन्धी छलफल कार्यक्रममा सो निर्णय गरिएको हो ।
यस्तै सेवा प्रवाह एवं विकास निर्माण सम्बन्धमा राजनीतिक दल एवं सरोकारवालासँग अन्तरकृया एवं छलफल गर्ने निर्णय भएको छ ।
नियमानुसार अनुगमन गरी प्रचलित कानुन बमोजिम मापदण्ड पूरा गरेका फर्म, वासिङ, खानीहरुको दर्ता, नविकरण एवं नियमनलाई कडाईका साथ लागू गर्ने पनि निर्णय गरिएको छ ।
शुक्रबार राजस्व संकलनबारे सुझावका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला पक्षहरुसँग नगरपालिकाको हलमा भएको छलफलपछि सो निर्णय गरिएको हो ।
छलफलमा नगरपालिकाका मेयर रमेश नापित, उपमेयर समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, नगरपालिका भित्र रहेका राजनीतिक दलका प्रतिनिधीहरु, नगरपालिकाका कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको सुरुमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नगरपालिकाको काम कारवाही सफल बनाउँन सबै पक्षसँग मिलेर जाने नगरपालिकाको नीति अनुसार छलफल कार्यक्रम राखिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रत्यक्ष रुपमा जनता नजिक भएर बसेका जनप्रतिनीधीहरुसँग बसेर सल्लाह गर्दै जनभावनालाई आत्मसाथ गरेर नगरपालिका अघि बढ्न चहान्छ । सँगै बसेर छलफल गर्ने सस्कारलाई विकसित गर्दै अघि बढ्नका लागी यो छलफल कार्यक्रम अघि बढाएका छौ । नगरपालिकाको विकास, समृद्धि र विभिन्न कामहरुका विषयमा, आवश्यक सहयोग र परामर्शका लागि यसरी नै हामी नियमित छलफल गर्ने योजनामा पनि छौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिकामा नयाँ जनप्रतिनिधीहरु निर्वाचित भएपछि केही गर्ने महात्वकांक्षाका साथ अघि बढेको अवस्थामा र कोभिडको समस्या हुदाँहुदैपनि सुष्म ढंगले विश्लेषण गर्न नपाई अलि धेरै महत्वकाक्षी भएर १ अर्ब ५० करोडको (ठुलो आकारको) बजेट निर्माण गरिएको र हाल सो लक्ष्यलाई भेट्न गार्हो परेको जानकारी दिनुभभयो ।
कार्यक्रममा उहाँले नगरले राजस्व प्राप्त गर्ने विभिन्न क्षेत्रको विश्लेषण गर्दै हाल संकलन गर्न सक्ने राजश्व, अब उठ्न सक्ने राजश्वको प्रक्षेपणसहित अब थप राजश्व प्राप्तिका लागी नगरपालिकाले गर्नु पर्ने काम तथा अन्य स्रोत के के हुन सक्छन् त्यस विषयमा सहभागीहरुसँग सुझाव माग गर्नुभयो ।
संघ र प्रदेशबाट वित्तिय हस्तान्तरण गरिने इक्युलाइजेसन फण्डको अंश पनि निकै सानो करिब करिब १७ देखि १८ करोड मात्रै रहेको पनि जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाले राजश्व बाडफाँडमा भ्याटको बाडफाँड, सवारी साधनको करको बाँडफाँडबाट राजस्व प्राप्त गर्ने उल्लेख गर्दै संघको राजस्व खुम्चिदा नगरपालिकाले प्राप्त गर्ने राजस्व पनि खुम्चिएको जानकारी दिनुभयो । सवारी साधन करमा अनुमानकै करिब करिब राजश्व उठाउन सफल भएको उहाँको भनाई थियो ।

यस्तै नगरपालिकाले गर्ने अन्य आम्दानीको स्रोतमा मालपोत रजिष्ट्रेसन कर रहेको र त्यसमा ४८ करोड राजश्व अनुमानित गरी सोही आधारमा कार्यक्रम बनाएकामा ८ महिनामा जम्मा ५ करोड मात्रै उठेको बताउनुभयो । यसको आधारमा अब करिब ८ करोडमात्रै उठ्न सक्ने जानकारी दिदै यो आर्थिक बर्षमा करिब ४० करोड बजेट घाटा हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।
साथै प्रकृतिक स्रोतसाधनको रोयल्टीबाट ६ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरेकोमा सो का लागि ठेक्का सुचना पाँचौपटक निकालिएको र राजस्व उठ्न नसकेको जानकारी दिँदै बैकल्पिक रुपमा नगरप्रहरी मार्फत नै राजश्व संकलनको काम भइरहेको जानकारी दिनुभयो ।
अर्को राजस्वको स्रोतको रुपमा रहेको सिफारिस दण्ड जरिवानाबाट संकलन हुने दस्तुरबाट हुने आयमा १९ करोड अनुमान गरेकोमा अहिले करिब करिब ४ करोडसम्म उठेको र अब २ करोडमात्रै उठाउन सकिने अवस्था रहेको उहाँको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत खनालले योजना कार्यान्वयन गर्नका लागि दुई प्रकारको रणनीती लिएको उल्लेख गर्दै सकेसम्म सबैजसो योजना इ बिडिङमार्फत र अर्को रणनितीको रुपमा डेडलाईन दिएर सो अवधीसम्म सम्झौता गर्न आउने योजनामात्रै सम्झौता गरिएको र बाँकीलाई अर्को आर्थिक बर्षको लागी थाती राखिएको, कम महत्वको नगर्दा पनि फरक नपर्ने कार्यक्रमलाई स्थगित गरिएको पनि जानकारी दिनुभयो ।
नगरपालिकाको हालको राजश्वको अवस्थाको बारेमा जानकारी दिँदै उहाँले राजस्वको दरको दायरालाई कसरी फराकिलो बनाउने भन्ने बारेमा सुझाव दिन आग्रह गर्दै उपयुक्त सुझावको आधारमा नगरपालिका सबै सरोकारवाला संगै अघि बढ्ने प्रष्ट पार्नुभयो ।
उहाँले अवको ५ बर्षमा नगरपालिकाको आर्थिक, सामाजिक, पुर्वाधार, वन वाताबरण र विपद व्यवस्थापन, संस्थागत विकासको क्षेत्रमा नगरपालिकाको दृष्ट्रिकोणमा सघन रुपमा छलफल गरेर सबैले स्वामित्व लिनेगरी योजना बनाउने नगरपालिकाको चाहाना रहेको उल्लेख गर्दै त्यसका लागि सबैको सकृय सहभागीता आवश्यक रहेको बताउँनुभयो । उहाँले सबैको साझा दस्तावेज हुनेगरी आबधिक कार्यक्रमका लागि आवश्यक सुझाव दिनपनि आग्रह गर्नुभयो ।
शंखरापुर नगरपालिकामा लगानी सम्मेलनको आयोजना गरि बृहत ढंगले कार्यक्रम गर्नका लागि पहिलो बैठक बसिएको र त्यसका लागि अझै धेरै गृहकार्य गर्न बाँकी नै उल्लेख गर्नुभयो । नगरपालिका भित्र नयाँ खानीहरुको अनुमती नदिईएको र नियमानुसार दिईएकोमा पनि अनुगमन गर्ने काम भइरहेको स्पष्ट पार्नुभयो । नगरपालिकाले गरिरहेको काम कारवाहीका क्रममा केही कमि कमजोरी भएकोको अवस्थामा आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेस शंखरापुरका सभापति दिलिप कुमार श्रेष्ठले आयतमा मात्रै निर्भर भएका कारण राजस्वमा कमजोर भएको उल्लेख गर्दै उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले कृषिमा इन्सुरेन्सको नीति ल्याउन नगरपालिकालाई अनुरोध गर्दै कृषियोग्य जग्गालाई आवाशीय बनाउन नहुनेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा सहभागी नेकपा एमाले शंखरापुरका अध्यक्ष रामकुमार तिवारीले तत्काल करको दरमा सुधार गर्न सकिने बताउँदै विकास निमार्णसँगै संरक्षणका काममा पनि ध्यान दिन अनुरोध गर्नुभयो । अव्यवस्थित प्लटिङ व्यवस्थित बनाउन, दर्ता नै नगरी गरिएको व्यापार व्यवसायलाई करको दायरामा ल्याउन, दिर्घकालीन रुपमा विकासका योजनाहरु अघि बढाउन सुझाव दिनुभयो ।

त्यस्तै कार्यक्रममा सहभागी शंखरापुर नगरपालिका माओवादी केन्द्रका कार्यवहाक नगर समिति अध्यक्ष रक्षेबहादुर तामाङ (युनिक)ले आर्थिक मितव्ययिता कसरी गर्ने भन्ने कुरामा जोड दिन सुझाव दिनुभयो । उहाँले शंखरापुर नगरपालिकाको समृद्धिको आधार कृषि र पर्यटन भएको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमा लगानी भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै राप्रपा शंखरापुरका जयराम श्रेष्ठले व्यापारीसँग नगरपालिकाले सम्बन्ध जोड्नुपर्ने, पर्यटनको सम्भाव्यता अध्ययन गर्नपर्ने लगायतका विषयमा सुझाव दिनुभयो ।
कार्यक्रमका अर्का सहभागी शंखरापुर उद्योग बाणिज्य महासंघका सुरेन्द्र श्रेष्ठले राजश्वबारे जानकारी मुलक कार्यक्रम संचालन गर्न, व्यवसायीहरुलाई करको दायरामा ल्याउने खालका कार्यक्रम संचालन गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी शशी सिलवालले आन्तरिक स्रोत व्यवस्थापन गर्नका लागी बैधानीक रुपमा गर्न सकिने हरेक स्रोतको परिचालन गर्न सुझाव दिनुभयो । साथै अल्पकालीन योजना न्युनिकरण गर्दै दिर्घकालीन योजना बनाउन उहाँको सुझाव थियो ।

त्यस्तै कार्यक्रममा सहभागी शंखरापुर वडा नं २ का अध्यक्ष रनबहादुर तामाङले नगरको विकास निर्माणमा सबै राजनीतिक दलको समान धारणा ल्याउन आग्रह गर्नुभयो । उहाँले नगरको दीर्घकालीन विकासका लागि सबै राजनीतिक दलले समान लक्ष्यका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा उठेका सबै सुझाव र प्रश्नको जवाफ दिँदै नगरप्रमुख रमेश नापितले सबै राजनीतिक दल, सामाजिक संघ संस्था एकजुट भएर मात्रै अघि बढ्ने बताउनुभयो । उहाँले नगरपालिकाले गर्न लागेको लगानी सम्मेलनको बारेमा पहिलो चरणमा मात्रै छलफल भएको र रुपमा बृहत छलफल गरी अघि बढ्न बाँकी नै रहेको जानकारी दिनुभयो । यस्तै खानी संचालनको बारेमा उठेको प्रश्नको जवाफमा उहाँले नगरपालिकाले कानुनको परिधीभित्र रहेर मात्र केही खानी संचालनका लागि स्वीकृती दिएको र नियमित रुपपमा अनुगमन समेत गरिरहेको जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस्