सक्व संस्कृति : साँखु कुमारीको ऐतिहासिक प्रसङ्ग

प्रकाशमान श्रेष्ठ ‘सक्व’
२० साउन २०८३, बुधबार

-प्रकाशमान श्रेष्ठ ‘सक्व’

साँखु कुमारी स्वयम् उग्रतारा बज्रयोगिनी देवी हुन् । बज्रयोगिनी देवी कुमारी स्वरूपा त्रिनेत्री, नागमाला, कण्ठी, तायोमाला, मुण्डमालासहित निधारमा हजारौं हिरामोती, जुवाहरात, पन्ना, पुष्पराज, नीलमणि, माणिकसहितको नवरत्नसहितको मुकुट, किरिट कुण्डल धारण गरेकी सदासर्वदा बाह्र वर्षकी मात्र हुने कन्या कुमारी हुन् ।
प्रत्येक बाह्र वर्षपछि कुमारीको कलेवर फेर्न गर्नुपर्ने न्यासपूजा झण्डै तीन महिनाको गुह्यपूजा, बलीपूजा, घुमांगारी पूजा, कुमारी पूजा, भैरव पूजा, कालरात्री पूजा, श्मशान पूजा, कुण्डल पूजासहितको कलशार्चन पूजा विधि विभिन्न सामग्रीसहितको अर्चना पुरश्चरणआदि देखि होम पूजासम्म कार्य गरी पुनर्निर्माण गरिएको बज्रयोगिनी देवीको मूर्ति सिंहिणी, व्याघ्रिणी देवीमूर्ति चारवटासहित हेरूक बज्र अचल बज्रका मूर्तिहरूसमेत सातवटा देवी देवताहरूको कलेवर फेर्ने कार्य गर्दछन् । अन्तमा कुमारी स्वरूपा बज्रयोगिनी देवीलाई दिव्यदृष्टि प्रदान गरेपछि निर्माण कार्यको कलेवर फेर्ने कार्य सम्पन्न गरिन्छ । अन्तिम दिव्यदृष्टि दान गर्ने कार्य पुण्यकार पुं जातिद्वारा गरिन्छ । हाल पुण्यकार वर्गहरूले आफूलाई चित्रकार भनी समाजमा चित्र लेख्ने वर्गमा मात्र चिनारी गरेका छन् । वास्तवमा चित्रकार निपूर्ण भएका दीक्षा पाएका वर्ग पुण्यकार हुन् ।


हालको बज्रयोगिनी देवीको मूर्तिको कलेवर फेर्ने शुभकार्यमा नाम चलेका पौभा निर्माता प्रेममान पुण्यकार पुंको अगुवाइमा रङ्गादिवासन कार्य भएको हो । त्यस्तै देवीको मूर्तिको काम गर्ने कर्माचार्य र शाक्य वर्गहरू पनि सक्रिय रूपमा लागिपरेका हुन्छन् । श्री उग्रतारा बज्रयोगिनी देवीको त्यस्तो कलेवर फेर्ने कार्य अन्तमा कुमारी स्वरूपा बज्रयोगिनी देवीलाई दिव्यदृष्टि प्रदान गर्ने कार्यको कलेवर फेर्ने सौभाग्यको कुरा हो शुभ कार्यको लागि वहाँहरूले नियुक्ति पाउनु उग्रतारा बज्रयोगिनी देवी नेपालकी शिरोमणी देवी हुन् जुन नेपाल देशको नामाकरण गर्ने तान्त्रिक देवी हुन् । कुमारी बसुन्धरा, एकजटी। नीलशारदा, खड्गयोगिनी, छ्वासकामिनी, महालक्ष्मी आदिकी प्रतीक उग्रतारा बज्रयोगिनी देवीको तान्त्रिक देवी नाच साँखुमा बर्सेनी भैरवीको रूपमा कागेअष्टमीको राति प्रस्तुत गरिन्छ । त्यसैगरी कुमारीको रूपमा असोज कृष्णपक्षको अष्टमी र दशैंको शुक्ल नवमी साँखु कुमारीको पूजा र कुमारी महापूजा कार्य साल्खाटोलको कुमारी मण्डप रामझोपडीमा उक्त कार्य सम्पन्न गर्ने गरिन्छ । त्यस कार्यको लागि बज्रयोगिनी देवीको पूजा, तलेजु पूजा, अष्टमातृका पूजा र कुमारी पूजासहित कुमारी निमन्त्रणा पूजा गर्ने गरिन्छ ।
मूलबाटामा औसानी छर्नुपर्ने धार्मिक कार्य गर्नुपर्दछ । सो अवसरमा पालो पर्ने बज्राचार्य पुजारीवर्गका चेली छोरी तथा छोरा एवम् बुढीकुमारी (जेठीकुमारीसमेत) चारजनालाई पूजा, भोजन वस्त्रादि चढाइन्छ । साँखु कुमारी पूजाको पहिलो नवमीमा गणेश, भैरव, कुमारी एवम् जेठी कुमारीसमेतलाई पूजा भोग चढाइन्छ । यसरी उपत्यकाको अन्यत्र कहीँ प्रचलनमा नरहेको जेठी कुमारी पूजा साँखुको कुमारी पूजा गर्दा प्रचलनमा रही आएको छ । पृथ्वीनारायण शाहले साँखु नगरलाई नियन्त्रणमा लिइसकेपछि बज्रयोगिनी दर्शन गर्न जाँदा नुवाकोटमा आफूलाई सपनामा दर्शन दिने मनकामना भगवतीसँग अनुहार मिलेको देखेर आफ्नो सम्पूर्ण राज्य नै देवीलाई चढाएर मनकामनाको नामाकरण गरी गीत श्लोक रचना गरेका थिए भन्ने जनश्रुति पाइन्छ ।
त्यस्तै साँखुमा बर्सेनी जात्रा गर्नुपर्ने पञ्चदान कार्यमा बसुन्धरा देवी भनिएकी देवीको मूर्ति पनि बज्रयोगिनीकै प्रतिमूर्ति मानिन्छ । जुन कुमारी महालक्ष्मीको रूपमा पूजा गरिन्छ । शास्त्रमा सोह्रवटा कुमारीको रूप वर्णन गरिएको छ । यहाँ नाममात्र उल्लेख गरिएको छ । रूद्रयामलतन्त्रावलीमा उल्लेख गरिए बमोजिम तल उल्लेखित १६ कुमारीहरू छन् । १) सन्ध्या, २) सरस्वती, ३) त्रिधामूर्ति, ४) कालिका, ५) सुभद्रा, ६) उमा, ७) मालिनी, ८) कुब्जिका, ९) कालसङ्कर्षा, १०) अपराजिता, ११) रूद्रायणी, १२) भैरवी, १३) महालक्ष्मी, १४) पीठनायिका, १५) क्षेत्रजा र १६) अम्बिका हुन् ।


त्यस्तै जात र थर अनुसारका दश कन्याको पनि कुमारीको रूपमा पूजा गर्ने कार्य प्रचलनमा रहेको छ । जुन यसप्रकार छ – १) नर्तकी कन्या, २) कपाली कन्या, ३) धोवी कन्या, ४) सापु कन्या, ५) ब्राम्हण कन्या, ६) शुद्र कन्या, ७) शाक्य कन्या, ८) चाण्डाल कन्या, ९) बनिया कन्या र १०) मित्र कन्या । त्यसैगरी उमेर अनुसार १० वर्षसम्मका कन्याहरूलाई विभिन्न नामाकरण गरी पूजा गर्ने प्रचलन रहेको पाइन्छ । जसअनुसार १ बर्से कुमारी, २ बर्से त्रिमूर्ती, ३ बर्से कल्याणी, ४ बर्से रोहिणी, ५ बर्से कालिका, ६ बर्से शाम्भवी, ७ र ८ बर्से सुभद्रा, ९ बर्से र १० बर्से दुर्गा रहेका छन् ।
साँखुमा कुमारी पूजा कार्य थालनीको इतिहास पुरानो छ । बज्रयोगिनी देवीको जात्रा चलाउन शङ्खरापुर नगर निर्माणकै क्रममा साल्खाटोलमा कुमारी मण्डप स्थापना भएको बुझिन्छ । त्यस्तै बज्रयोगिनी देवीको बाह्र बर्से कलेवर फेर्ने कार्यदेखि बज्रयोगिनी स्थलमा जुनसुकै शान्ति कार्यमा कुमारीको पूजा गर्नुपर्ने अनिवार्य प्रावधान राखिएको पाइन्छ । साथै शान्ति कार्यमा कुमारीको पूजा गर्दा गुह्य र बाह्य कुमारी पूजा गरिन्छ । त्यसबेला बज्रयोगिनी पूजारी बज्राचार्यहरूका चेली छोरीमध्ये कसैलाई कुमारी पूजा गरिन्छ । उक्त समयमा कुमारीलाई वस्त्र गरगहना भेटी रोटी चढाइन्छ । कुमारी, गणेश, भैरव छान्ने कार्य गातिला व्रत कार्य गर्ने बेलामै गोलाप्रथाद्वारा पुजारी वर्गले सम्पन्न गर्दछन् ।

लगभग चारसय वर्षअगाडि जयधर्मदेव बज्राचार्य मूल पुजारीले आफ्ना पाँच भाइ छोराहरूलाई पुजारी पालो भाग लगाएपछि मूल, व्छाक, कवचि, इल र इथू गरी पाँच भागमा पालैपालो पुजारी पालो र कुमारी पालो पर्न जान्छ । आफ्नो पालो पर्ने बज्राचार्य वर्गका चेली छोरीलाई भएपनि राख्न मिल्छ । यदि कसैको योग्यता नभएमा भाञ्जी चेली भएपछि राख्न मिल्ने गरी तत्कालीन राजाको आज्ञाबाट कार्य भएको अभिलेख बज्रयोगिनी शान्ति स्वस्ति घटनावलीमा लेखिएको पाइएको छ । अभिलेख । “शुभ सम्वत् ७९६ भाद्र कृष्णया दशमीस थ्ववेलस जयधर्म्मदेव आदि न, गुवाहा, वदे आदिन संघसकस्यां कुमारी तयेत म्यामेमचा मदयाव हिन जुयाव चोन कुमारी पूजा यायेत मदयाव महासन्देह चास्य थ्वनलि अथ्येमषुत धक धयाव संघ सकस्या जयधर्म्मदेवन मनुकाव समधार यानाव सकल्ये सुनाव राजास धाल बनाव, थन राजा न जयधम्मदेवयात धाल छमिसं म्हयायेया म्हयाच मदुला धक नेनाव भिनामचा दुधक धयाव राजान आम जिब धक धया बंगलक्षया पानियाके पुण्डलीया म्हयाच कुमारी पूजा यातका ।। द्यो दुबोना सतिपुन्हु सालषाटो लया मण्डपस कुमारी, भ्यलु, गणेश, जिथि कुम्हाल थुलि पुजा याये माल ॥ मोहनीस बुसाधन पाललाकम्हया छेस मुकुमारी पूजा यायेमाल । थ्वनलि जयधर्म्मदेवया जक मषुत संघ पनिसयाके दतसा. कुमारी तयेतेव जुल । कुमारीभरि म्हयाच मदयाव भिनामचा तयागुया छात चोयातया जुल शुभम् । ”
अर्थ : शुभसंवत् ७९६ भाद्र कृष्ण दशमीको दिनमा बज्राचार्य सङ्घहरू कसैको पनि कुमारी पूजा गर्न कन्या नभएको कारण तत्कालीन राजालाई जाहेर गर्दा राजाबाट जयधर्म्मदेव बज्राचार्यलाई भाञ्जी छोरीलाई कुमारी बनाई पूजा गर्न हुकुम गरियो । सो अनुसार कान्तिपुर इन्द्रचोककी भाञ्जी छोरी कुमारीलाई साल्खाटोलको कुमारी मण्डपमा कुमारी, भैरव, गणेश र जेठी कुमारी पूजा गरियो ।


यसरी हालसम्म साँखुमा कुमारी पूजा कार्य चल्दै आइरहेको कुरा कुमारी पूजा गुठी नाइके तलेजु भवानीको पुजारी राजेन्द्र श्रेष्ठ पन्याजु परिवारबाट चल्दै आइरहेको कुरालाई अर्का गुठियार मिनबहादुर जोशीले समर्थन गरेका छन् । कुमारी पूजाको लागि सरकारी खर्च सहयोगमा चल्दै आइरहेको बुझिएको छ भने अन्यत्रजस्तै कुमारी पूजाकार्यसम्मको लागि कुमारी, भैरव, गणेश, हुनेहरूको जीउमा देवी देवता चढाउने गरिन्छ । पूजा सम्पन्न भइसकेपछि देवी देवतामा आ-आफ्नै स्थानमा फर्कने विश्वास गरिन्छ । त्यसकारण साँखुमा काठमाण्डौ, पाटन र भक्तपुर, बुगमतीआदि नेवार बस्तीमा जस्तै सधैँ कुमारीको भेषमा रहनुपर्दैन ।
करिब तेत्तीससय वर्षअगाडि देखिको साँखु शङ्खरापुरको इतिहासबाट नेपाल मण्डल स्थापना एवम् जात्रापर्व र धार्मिक सहिष्णुताको विकास भएको स्थान बज्रयोगिनी स्थललाई मानिएको छ । त्यहाँ मञ्जुश्रीको मूर्ति स्थापना हुनु तथा विक्रमादित्य, धर्मादित्य, विरूपाक्ष, शङ्खराचार्यले भ्रमण गरेको भृकुटी विवाहमण्डप जोगाम्बर चैत्य, मानदेव तथा अशोक चैत्यआदि स्थापना हुनुको साथै तत्कालीन दिग्गज राजामहाराजाहरूको समेत सद्भावना तथा धार्मिक भ्रमणको केन्द्र भएको बुझिन्छ
सत्ययुगदेखि बलेको आगो दिपंकर बुद्धको शिर तथा नेपाल मण्डलको सर्वप्रथम सम्यक् पूजा गरिएको प्रमाणस्वरूप घोप्ट्याइएको कराही, स्वयम्भू चैत्यलाई मन्दिरभित्र राखिएको विश्वको अलौकिक नमुनाका मन्दिर र देवी देवताहरूजस्तै बज्रयोगिनीका दायाँबायाँ रहने मञ्जुश्री र वसुन्धराका मूर्ति, पञ्चबुद्धका प्रतीक तथा पञ्च आर्यताराका प्रतीक मूर्तिहरू छन् । तत्कालीन चीन सम्राटहरूबाट कोसेली पठाइएका रत्नमण्डलआदि स्थापना गरिएका छन् । जङ्गलको बीचमा रहेको बज्रयोगिनी क्षेत्रको समग्र विकासमा गुठी संस्थान र सरकारको हेलचक्र्याँइका कारण मञ्जुश्रीको शिलामूर्ति, पञ्चबुद्धका धातुका मूर्ति, रत्नमण्डल, सिंह मूर्ति, तथा महाँकाल भैरवका सुवर्ण छत्र, ताम्रछत्र, त्रिशूल, खट्वाङ्गआदि अन्य मन्दिरका पूजा सामग्री, गरगहनाहरू हराएका छन् ।
नेपालको इतिहासमा शङ्खराचार्यद्वारा बौद्ध परम्परा ध्वस्त गरेको प्रमाणस्वरूप बज्रयोगिनी क्षेत्रमा गुविहार चैत्यको अत्यधिक पुरानो चैत्यसमेत भत्काएर घोप्ट्याइदिएको हालसम्म देख्न सकिन्छ । त्यस घोप्ट्याइएको चैत्यबाट प्रसिद्ध ढुङ्गे गुफाको मूलद्वार नै थुनिएको देख्न पाइन्छ । गुविहार बज्रयोगिनी क्षेत्रमा नौवटा ढुङ्गेगुफा, नौवटा विहार, नौवटा कुण्डल, नौ प्रकारका धार्मिक क्षेत्रहरूको सङ्गम रहेको छ। यस्तो ऐतिहासिक महत्त्व बोकेको बज्रयोगिनी क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गरी साँखुको कुमारी प्रथालाई विश्व सामू पहिचान गराउने कार्यमा अग्रसर हुनु जरूरी भएको छ । साँखुको कुमारी स्वरूपी उग्रतारा बज्रयोगिनी देवीको पुरश्चरण पाठ पूजा गर्दा धेरै धार्मिक ग्रन्थहरू पाठ गर्नुपर्ने प्रावधान रहेको कुरा ने.सं. ९५६ अर्थात वि.सं. १८९२ सालको अभिलेखमा निम्न पाठ प्रसङ्ग लेखिएको पाइन्छ । १) श्री उग्रतारा मूलमन्त्र जप ४ लाख, २) श्री नीलसरस्वती मन्त्र जप ४ लाख, ३) श्री एकजटी मन्त्र जप ४ लाख, ४) हृदय मन्त्र जप ४ लाख, ५) उपहृदय मन्त्र जप ४ लाख, ६) पञ्चरक्षा पाठ आवर्त मन्त्र जप ५४, ७) धारणी पाठावर्त जप ५४, ८) शतनामा आवर्त १०८, ९) सहश्रनाम आवर्त ५४, १०) नमस्कारैक विशति स्त्रोतावर्त १०८, ११) ताराकवचावर्त १०८, १२) श्री ताराहृदयावर्त १०८, १३) ध्वजाप्रकेयुरी आवर्त ५४, १४) विजयवाहिनी आवर्त ५४, १५) गणेश हृदयावर्त १०८, १६) श्री महांकाल तन्त्रोक्त पाठावर्त १०८, १७) प्रत्यङ्गिरापाठ, १८) सद्धर्मपुण्डरिकाक्षपाठ आदि ।
ऐतिहासिक, पुरातात्विक महत्त्वका चिन्हहरू संरक्षण गर्नु सबैको कर्तव्य हो । साँखु साल्खाटोलको रामझोपडी भजन मण्डल पनि ऐतिहासिक कुमारी मण्डप रहेको प्रमाणित भएकोले अब सर्वसाधारणले पनि प्रष्ट बुझिने गरी साँखु कुमारी मण्डप भनी लेख्ने विषयमा बहस हुनु जरूरी छ ।

प्रत्येक वर्ष कुमारी, गणेश, भैरव र जेठी कुमारीहरूको पूजाप्रसाद, भोजन, वस्त्रादि चढाउनु पर्ने नेपालको मौलिक परम्परा भएको कुमारी पूजा गर्ने स्थानको पहिचान भएको कुमारी मण्डप अर्थात रामझोपडीले ऐतिहासिक महत्त्व राख्दछ । उक्त कुमारी मण्डपमा कुमारी, गणेश, भैरव, जेठीकुमारी र पूजा सर्जामसमेत पश्चिमी झ्यालढोकाबाट प्रवेश गराउनु पर्ने परम्परा रहेको छ । उक्त पश्चिमी झ्याल ढोका मुन्तिर बर्सेनी माघ महिनामा भक्तपुरबाट नवदुर्गाको चार दिन साँखु बसाइमा विना अनुहारको भगवती मूर्ति ( सिफद्य:) को विराजमान गराइने चलन रहेको छ । उक्त स्थानमा नवदुर्गाको नाच देखाइने चलन रहेको छ । त्यसैगरी गाईजात्राको अवसरमा गाईलाई उसिनेको गहुँ खुवाउनु पर्ने ऐतिहासिक धार्मिक स्थान पनि यही ठाउँ हो। साथै यस डबलीलाई जनडबलीको रूपमा पनि उल्लेख गरिन्छ । न्याय निसाफको लागि साल्खा डबलीमा न्याय गर्ने भन्ने उखान साँखुमा प्रसिद्ध छ । यस डबलीमा साँखुको प्रसिद्ध देवी नाच पनि देखाइन्छ । त्यसैले यस जीवित देवी कुमारीको आसन रहेको कुमारी मण्डपको बारेमा विशेष बहस चलाई यसको प्रचारप्रसार एवं संरक्षण हुनु जरूरी छ ।