जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
नयाँ पोस्ट
काठमाडौं । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार तथा उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गरी नयाँ कर्जा व्यवस्था थप गरेको हो।
संशोधित कार्यविधिअनुसार आन्दोलनमा शहीद भएका व्यक्तिका परिवार तथा आन्दोलनमा घाइते भएकाहरूले स्वरोजगार उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा लिन सक्नेछन्। यस्तो कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ तोकिएको छ।
कर्जा प्राप्त गर्न सम्बन्धित व्यक्ति जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको कुरा नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको सम्बन्धित निकायबाट प्रमाणित भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
कार्यविधिले ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने स्पष्ट पारेको छ।
सरकारले शहीद परिवार तथा घाइतेका लागि उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा विभिन्न स्वरोजगार तथा उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।
यसअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग तथा स्टार्टअप उद्यम सञ्चालन गर्न कर्जा लिन सकिनेछ।
त्यसैगरी नेपाल सरकारले समय–समयमा तोक्ने अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालनका लागि समेत यस्तो कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
सरकारले आन्दोलनबाट प्रभावित शहीद परिवार तथा घाइतेलाई राहत तथा सहयोगसँगै स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको जनाएको छ।
नयाँ व्यवस्थाले शहीद परिवार तथा घाइतेलाई आफ्नै व्यवसाय सञ्चालन गरी आम्दानीको स्रोत निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी कृषि, साना तथा घरेलु उद्योग, पर्यटन, सूचना प्रविधि र स्टार्टअपजस्ता क्षेत्रमा लगानी गर्न चाहनेका लागि यो व्यवस्था उपयोगी हुने देखिएको छ।
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि संशोधन गरिएको जनाएको छ।
संशोधित कार्यविधि कार्यान्वयनमा आएसँगै जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जाको औपचारिक बाटो खुलेको छ। अब तोकिएको मापदण्ड पूरा गर्ने लाभग्राहीले आफ्नो आवश्यकता र व्यवसायको प्रकृतिअनुसार ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।




प्रतिक्रिया दिनुहोस