Image description

मौसम परिवर्तनको बेला छ । यतिबेला धेरैलाई ज्वरो र सुक्खा खोकीले सताइरहेको हुन सक्छ । अहिले इन्फ्लुएन्जा ए, बी भाइरस र ब्याक्टेरिया सक्रिय भएर ज्वरो आएको हो । यससँगै घाटी दुख्ने, सास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने समस्या हुन सक्छ ।

विगतका तथ्यांकहरुले मार्च महिनामा मौसमी फ्लु उत्कर्षमा पुग्ने गरेको देखिन्छ ।

 

मौसम परिवर्तन हुँदा किन स्वास्थ्य बिग्रिन्छ ?

तापक्रम बढ्दैछ र यतिबेला प्रदूषण पनि हटिसकेको छैन । यसले गर्दा भाइरस सक्रिय हुन्छ । त्यही भाइरसले संक्रामक रोग फैलाउँछ । जस्तो, ज्वरो, सुख्खा खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या हुनु, प्रतिरक्षा प्रणाली कमजोर हुनु ।

 

यस्ता सरुवा रोगहरु फैलिनमा हाम्रो भेटघाट, घुमघाम पनि एउटा कारण हुन सक्छ । मान्छेहरुसँग भेटघाट गर्दा एउटामा भएको भाइरस अर्कोलाई सहजै सर्छ र यो चाँडै फैलिन्छ ।

बालबच्चा र बुढापाकालाई सास्ती

मौसमी ज्वरो, रुघा आदिले जुनसुकै उमेर समूहकालाई पनि सताउन सक्छ । यद्यपि रोग प्रतिरोधी क्षमता कमजोर भएका बुढापाका, बालबच्चालाई यसले धेरै दुःख दिन्छ ।

ख्याल गरिएन भने जटिलता

सामान्य ज्वरो वा रुघाखोकी भनेर जथाभावी गर्न थालियो भने रोगले च्याप्न सक्छ । खासगरी टाइफाइड हुने, निमोनिया हुने जोखिम हुन्छ । यसले विस्तारै अरु अंगमा समस्या थप्न सक्छ ।

के छ उपचार ?

रुघाखोकी वा ज्वरो आएमा विशेष सर्तकता अपनाउनुपर्छ । झोलिलो खानेकुरा खाने, शरीरलाई न्यानो राख्ने, सरसफाइमा विशेष ध्यान दिने गर्नुपर्छ ।

यदि गाह्रो भएमा चिकित्सकको परामर्श लिने वा उपचार गर्ने गर्नुपर्छ । मौसमी रुघाखोकीको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । जस्तो, टाउको दुखिरहेको छ र ज्वरो पनि छ भने सिटामोल खाने, एन्टिभाइरल औषधि प्रयोग गर्न सकिन्छ ।

६ देखि १० दिनसम्म पनि ज्वरो, रुघाखोकी ठीक भएन भने जनरल फिजिसियन वा सरुवा रोग विशेषज्ञलाई देखाउन सकिन्छ । तर एन्टिबायोटिक औषधि जथाभावी प्रयोग भने गर्न हुँदैन । सिटामोलबाहेक अन्य औषधि खाँदा स्वास्थ्य परीक्षण गराएर मात्र खान उचित हुन्छ  । ६ महिनामाथिका व्यक्तिले संक्रामक रोग विरुद्ध खोप दिन सकिन्छ ।

कसरी बच्ने ?

संक्रामक रोगबाट बच्न रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहने, हात पटकपटक धुने, सम्भव भए मास्क लगाएर बाहिर निस्कने गर्नुपर्छ । प्रतिरक्षा प्रणाली बलियो राख्न तातो पानी पिउने, पचाउन ऊर्जा कम लाग्ने गरी हल्का र पौष्टिक खाना खानुपर्छ ।

साथै, सुत्दा धेरै यस्ता हार्मोन निस्किन्छन्, जसले भाइरस र ब्याक्टेरियासँग लड्ने शक्ति बढाउने भएकाले पर्याप्त निद्रा लिनु आवश्यक छ । ज्येष्ठ नागरिक वा श्वासप्रश्वासको समस्या भएका व्यक्तिलाई फ्लुको खोप लगाउन सकिन्छ ।