Image description

शंखरापुर नगरपालिकाकोे नवौं नगरसभामा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखेका छन् ।
 सो अवसरमा एकीकृत समाजवादीका तर्फबाट श्याम कुमार वाईवाले पर्यटनका लागि बजेट व्यवस्था कसरी गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे । 
उनले साँखुको चार ढोकाभित्रको क्षेत्र सांस्कृतिक, पौराणिक हिसावले महत्वपूर्ण रहेपनि पर्यटक भित्राउन नसकेको बताउँदै सो  ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थाई रूपमा लाखौ आम्दानी गर्न सकिने बताए । 


उनले भने–‘साँखुका साथै जहरसिंह पौवा, झुले क्षेत्र, लगायत ३४ वटा सामुदायिक बन छ, त्यसलाई आम्दानीको स्रोत बनाउन सकिन्छ । सबै वडामा खानेपानीको  समस्या छ, साना खानेपानी उपभोक्ता समिति बनाएर खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।’ 
उनले इन्द्रायणी जस्तो सुगम ठाउँमा नगर हस्पिटल ल्याइएको बताउँदै नगर अस्पताल जहरसिंह पौवामा सार्न माग गरे । 
यस्तै ढुङ्गा गिटी बालुवाको व्यवस्थापन, कुलो, खोला संरक्षणमा स्पष्ट व्यवस्था ल्याउन आग्रह गरे । 


राप्रपाका तर्फबाट जयराम श्रेष्ठले देशभरि आर्थिक मन्दि भएकोमा शंखरापुर नगरपालिका पनि अछुतो नरहेको बताउँदै सबैले हातोमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले शंखरापुरको आर्थिक विकासका लागि प्राकृतिक र सांस्कृतिक रूपमा प्रयाप्त संभावना रहेकोले त्यसबाट आर्थिक लाभ लिन सक्नुपर्ने बताए । 

यस्तै रास्वपाका नगर सभापति सुरेस मानन्धरले पर्यटन र कृषिको ठुलो संभावना बोकेको क्षेत्र रहेको बताउँदै आर्थिक समृद्धिका लागि पर्यटन र कृषिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 


यस्तै माओवादी केन्द्रका शंखरापुर नगर अध्यक्ष रक्षेबहादुर घ्लान तामाङले बजेट निर्माणका क्रममा २९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको बताउँदै सोही अनुसार काम गर्न आग्रह गरे । 
उनले वडालाई बढि भन्दा बढी बजेट ब्यवस्था गर्न माग गरे । उत्पादन मुखी व्यावसाय अगाडि बढाउने, रासायनिक मलको ब्यवस्था गर्न माग गर्नुका साथै तामाकोसी सव स्टेसन निर्माणका लागि तत्काल पहल सुरू गर्न माग गरे ।
उनले वडा नम्बर १,२,३ र ४ लाई पायक पर्ने जहरसिंह पौवामा नगर अस्पतालको व्यवस्थाका लागि पहल गर्न आग्रह गरे । साँखुलाई सांस्कृतिक सम्पदा बस्ति बनाउन पहल गर्न पनि आग्रह गरे ।
यस्तै एमाले शंखरापुर नगर अध्यक्ष रामकुमार तिवारीले वडामा योजना र बजेट कम भएको बताउँदै नीति तथा कार्यक्रम बनाउँदा राजनीतिक दलहरूसँग छलफल गर्न आग्रह गरे । 


उनले  राजनीतिक दलसँग सुझाव लिने काम नभएको बताउँदै पार्टीको तर्फबाट ज्ञापन दिएको र त्यसलाई कार्यान्वयन गर्न माग गरे । उनले वडा तहमा रहेका कर्मचारीलाई सताउने काम भएको गुनासो गर्दै नगरमा रहेका शिक्षकलाई जथाभावी सरूवा गरेर सताउने काम नगर्न आग्रह गरे । 
जथाभावी उत्खननको काम भएको छ त्यसतर्फ ध्यान दिन आग्रह गरे । यस्तै करको दायरा बढाउने नाममा जथाभावी कर नबढाउन आग्रह गर्दै सुशासन कायम गर्न आग्रह गरे । 

यस्तै नेपाली कांग्रेस नगरसभापति दिलिपकुमार श्रेष्ठले सम्पदा बस्तिमा टिप्पर चल्न नदिने बिषयमा ध्यान दिन आग्रह गरे । शंखरापुरमा कुन कुन क्षेत्रलाई कृषि जोन बनाउन सकिन्छ त्यसलाई ध्यान दिन आग्रह गरे । उनले कृषि उत्पादन हुने क्षेत्रलाई कृषिको क्षेत्रको रूपमा बर्गीकरण गर्न माग गरे । 


जग्गा प्लटिङ हुने तर खेतिपाति  नहुने अवस्था रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे । शंखरापुर नगरपालिकामा यथेष्ट संभावना रहेकोले बताउँदै त्यसका लागि भिजन हुनुपर्ने बताए ।
शंखरापुर ९ मा खानेपानीको योजना अघि सार्न आग्रह गर्दै श्रेष्ठले कृषिमा आत्मनिर्भर हुने व्यवस्था गर्न आग्रह गरे । 
उनले जहरसिंह पौवामा रहेको अपर तामाकोसीको बारेमा नगरपालिकाले स्पष्ट धारणा राख्न आग्रह गरे । 


यस्तै पुर्व नगरप्रमुख सुवर्ण श्रेष्ठले अघिल्लो पटक जे जति नीति तथा कार्यक्रम आउँथ्यो त्यसको कपिको रूपमा आउने गरेको आरोप लगाए । 
बस्तुगत आधारमा रहेर मात्र बजेट निर्माण गर्न आग्रह गर्दै नगरपालिकाले गरेको कामकारवाहीको आलोचना गरे । 
कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले नगरपालिकाले पर्यटनको क्षेत्रमा कृषि,  रोजगारीको क्षेत्रमा उपलब्धि हासिल गर्ने विश्वास लिएको बताए । सबैभन्दा ठुलो चुनौति आर्थिक चुनौति रहेको बताउँदै आर्थिक स्रोत बढाउने काम गर्नुपर्ने कुरामा जोड दिए । उनले जिल्ला समन्वय समितिले शंखरापुरलाइ आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्दता ब्यक्त गरे ।