एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँ उकालो लाग्यो सुन
नयाँ पोस्ट
२० साउन २०८३, बुधबार
काठमाडौं, साउन २ – नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन ४ हजार २ सय रुपैयाँले मूल्य बढेको हो।
महासंघका अनुसार गत साताको बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ रहेको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।
यसअघि नेपाली बजारमा सुनको मूल्यले माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँको कीर्तिमान कायम गरेको थियो।
यता, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको परिवर्तन, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक गतिविधिका कारण सुन–चाँदीको मूल्यमा दैनिक उतारचढाव देखिने गरेको छ।
प्रतिक्रिया दिनुहोस