रुग्ण उद्योग सञ्चालनको सरकारी पहलप्रति प्रचण्डको प्रशंसा

नयाँ पोस्ट
२६ साउन २०८३, मंगलबार

काठमाडौं, २६ साउन । रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको पहलप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशंसा गरेका छन्।

विशेषगरी लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको विषयलाई सकारात्मक रूपमा लिँदै प्रचण्डले सरकारलाई धन्यवाद दिएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले हेटौँडा कपडा उद्योग सञ्चालनमा आए कपडा आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गरिएको स्मरण गर्दै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसँगै गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना लगायतका रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको बताएका छन्।

सरकार परिवर्तनपछि रोकिएको प्रक्रिया पुनः अघि बढ्नु सकारात्मक भएको उल्लेख गर्दै उनले सम्भावना भएका सार्वजनिक उद्योगलाई आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

उनका अनुसार यस्ता उद्योगको पुनरुत्थानले देशमा उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

सरकारी उद्योगमा सुधार आएको सरकारको दाबी

सरकारले भने पछिल्लो समय सार्वजनिक संस्थान तथा सरकारी उद्योगको सञ्चालन र व्यवस्थापनमा सुधारका प्रयास अघि बढाइएको जनाएको छ।

सरकारका अनुसार दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको छ। यसअघि करिब आठ महिनासम्म रहेको भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको र करिब ७२ करोड रुपैयाँको बक्यौता घटाएर ३५ करोड रुपैयाँमा सीमित गरिएको दाबी गरिएको छ।

दूधमा किसानलाई प्रतिलिटर एक रुपैयाँ अतिरिक्त प्रोत्साहन रकम दिइएको तथा सुधारका प्रयासपछि डीडीसीको दैनिक बिक्री करिब ३५ प्रतिशतले वृद्धि भएको सरकारको भनाइ छ। दैनिक औसत राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको जनाइएको छ।

त्यस्तै, लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड ले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको सरकारको दाबी छ। गत आर्थिक वर्षमा कम्पनीले करिब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाइएको छ।

नेपाल वायुसेवा निगम को आम्दानीमा समेत सुधार आएको सरकारको विवरणमा उल्लेख छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

पछिल्लो तीन महिनामा नेपाल एयरलाइन्सको सिट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको सरकारको भनाइ छ।

त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समिति ले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको जनाइएको छ। पछिल्लो आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको सरकारको दाबी छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन

सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको जनाएको छ। परीक्षणका क्रममा केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको बताइएको छ।

उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र परीक्षणपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।

वर्षौंदेखि बन्द तथा घाटामा रहेका सार्वजनिक उद्योगलाई पुनर्जीवन दिने प्रयासले राष्ट्रिय उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने सरकारको अपेक्षा छ।

सरकारको यही पहलप्रति प्रतिक्रिया दिँदै प्रचण्डले सम्भावना भएका सार्वजनिक उद्योगलाई प्रभावकारी व्यवस्थापनसहित पुनः सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताएका छन्।