शंखरापुरमा स्वास्थ्य सेवा लिनेको संख्या ४२ हजार नाघ्यो, बीमाका सेवाग्राही १० हजारभन्दा बढी

नयाँ पोस्ट
१६ भदौ २०८३, मंगलबार

काठमाडौं । शंखरापुर नगरपालिकामा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विवरण अनुसार नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाबाट एक वर्षमा ४२ हजार १० जनाले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य शाखाको विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३२ हजार २० जना सेवाग्राही रहेकामा २०८१/०८२ मा ४१ हजार ४९७ पुगेको थियो। २०८२/०८३ मा यो संख्या थप बढेर ४२ हजार १० पुगेको हो। वडा तहमा रहेका स्वास्थ्य केन्द्र तथा नगर अस्पतालबाट समेत गरी यो संख्याका सेवाग्राहीले उपचार सेवा लिएका हुन ।

इन्द्रायणी नगर अस्पतालमा १३ हजार ५६५ सेवाग्राही

आर्थिक वर्ष २०८२/०८३ मा इन्द्रायणी नगर अस्पतालबाट मात्रै १३ हजार ५६५ जनाले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालमा अघिल्लो आर्थिक वर्ष १२ हजार ४१० सेवाग्राही पुगेका थिए।

नयाँ सेवाग्राहीको संख्या ६ हजार ६० रहेको छ भने ६० वर्षमाथिका ज्येष्ठ नागरिक सेवाग्राही ४ हजार २२७ जना रहेको विवरणमा उल्लेख छ।

स्वास्थ्य बीमामार्फत सेवा लिने सेवाग्राहीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५१८ जना रहेकामा २०८१/०८२ मा ६ हजार ७०८ पुगेको थियो। २०८२/०८३ मा भने १० हजार ७८ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन्।

आकस्मिक सेवा लिनेको संख्या १ हजार १०७

इन्द्रायणी नगर अस्पतालको आकस्मिक कक्षबाट सेवा लिनेको संख्या तीन वर्षमा उल्लेख्य बढेको छ। आर्थिक वर्ष २०८०/०८१ मा २३० जना आकस्मिक बिरामी रहेकामा २०८१/०८२ मा ९०८ र २०८२/०८३ मा १ हजार १०७ जना पुगेका छन्।

अस्पतालमा निदानात्मक सेवाको प्रयोगसमेत बढेको छ। आर्थिक वर्ष २०८२/०८३ मा एक्स–रे, USG, ECG र ल्याब गरी ७ हजार ६५८ वटा सेवा प्रदान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यी सेवाको संख्या ६ हजार ३७ थियो।

९६ जना बिरामीले पाए मासिक पाँच हजार उपचार खर्च

मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपैयाँका दरले औषधि उपचार खर्च उपलब्ध गराइएको छ। आर्थिक वर्ष २०८२/०८३ मा यस्तो सुविधा पाउने लाभग्राही ९६ जना रहेको छ। नगरपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। इन्द्रायणी नगर अस्पतालबाट २५४ र लप्सेफेदी स्वास्थ्य चौकीबाट १६१ गरी ४१५ जनाले यस्तो सेवा लिएका छन्। यसमध्ये २७६ ज्येष्ठ नागरिक र १२९ गर्भवती महिला छन्। नगरपालिकाका सबै वडाका १५ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकामा समावेश सबै खोप पाएको भन्दै शंखरापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।


धेरै पढिएको