शंखरापुरमा १६ हप्ते जलवायु अनुकूलन कृषक पाठशाला तालिम सम्पन्न
महिला कृषकलाई आत्मनिर्भर बनाउन नगरपालिका सहयोग गर्न तयार छ : नगरप्रमुख नापित
नयाँ पोष्ट । २०८३ मंसिर ८
काठमाडौं । शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले महिला कृषकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ। उहाँले महिलाहरूले आफ्नो सीप, ज्ञान र क्षमतालाई व्यवहारमा उतार्दै कृषि तथा उद्यमशीलतामार्फत आयआर्जनमा जोडिनुपर्ने बताउनुभएको छ।
शङ्खरापुर नगरपालिका–८ स्थित धाराभञ्ज्याङ, घुमारचोकमा सञ्चालित १६ हप्ते एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालाको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख नापितले यस्तो बताउनुभएको हो।
तालिममा सहभागी महिलाहरूले देखाएको आत्मविश्वास, सक्रियता र प्रस्तुतीकरणको प्रशंसा गर्दै उहाँले महिला दिदीबहिनीहरू अब कुनै पनि क्षेत्रमा पछि नरहेको उल्लेख गर्नुभयो। विगतमा महिलाहरूले सार्वजनिक रूपमा आफ्ना विचार राख्नसमेत हिचकिचाउने अवस्था रहेको स्मरण गर्दै उहाँले अहिले महिलाहरू सीप, ज्ञान र क्षमताका आधारमा हरेक क्षेत्रमा अगाडि बढिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “१६ हप्तासम्म तालिम लिएर तपाईंहरूले जुन आत्मविश्वास र क्षमता प्रस्तुत गर्नुभएको छ, त्यो निकै प्रशंसनीय छ। अब सिकेका कुरा व्यवहारमा उतारेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ।”
नगरप्रमुख नापितले काउली खेतीलगायत कृषि उत्पादनका क्षेत्रमा हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्दै सामूहिक रूपमा आयआर्जनका गतिविधि सञ्चालन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कृषक समूहले स्पष्ट कार्ययोजना बनाएर कृषि उत्पादन तथा उद्यम सञ्चालनका लागि नगरपालिका समक्ष प्रस्ताव ल्याए आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो।
“तपाईंहरूले समूह बनाएर स्पष्ट कार्ययोजना तयार गर्नुहोस् र कृषि उत्पादन तथा उद्यम सञ्चालनका लागि नगरपालिका समक्ष प्रस्ताव ल्याउनुहोस्। त्यसका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार छ,” उहाँले भन्नुभयो।
महिला उद्यमशीलता, कृषि उत्पादन र सीप विकासका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासलाई सँगसँगै अगाडि बढाइरहेको बताउनुभयो।
युवाहरूलाई रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्न सीपमूलक तालिम तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो। युवालाई तालिमसँगै आवश्यक बीउ पुँजी उपलब्ध गराएर आफ्नै ठाउँमा उद्यम तथा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा शङ्खरापुर नगरपालिकाकी कृषि शाखा प्रमुख सीतादेवी गुरागाईंले १६ हप्ते आइपिएम कृषक पाठशालाले सहभागी महिलाहरूको कृषि ज्ञान, प्राविधिक सीप र नेतृत्व क्षमता विकासमा सहयोग पुर्याएको बताउनुभयो।
उहाँका अनुसार पाठशाला सञ्चालनका क्रममा सुरुमा कृषक समूह गठन, लैङ्गिक विश्लेषण तथा स्रोत नक्साङ्कन गरिएको थियो। त्यसपछि काउली बालीमा परम्परागत खेती विधि र आइपिएम विधिबीच तुलना गर्दै स्वस्थ बेर्ना उत्पादन, बालीको नियमित अवलोकन तथा जैविक विधिबाट कीरा व्यवस्थापन गर्ने अभ्यास गराइएको थियो।
“आइपिएम कृषक पाठशाला स्वस्थ बाली उत्पादन गर्ने, विषादीको प्रयोग न्यूनीकरण गर्ने, वातावरण संरक्षण गर्ने र कृषकको नेतृत्व तथा क्षमता विकास गर्ने विधिमा आधारित छ,” उहाँले भन्नुभयो।
तालिम सुरु हुँदा सार्वजनिक रूपमा आफ्नो परिचय दिनसमेत हिचकिचाउने महिलाहरू अहिले कार्यक्रम सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको उल्लेख गर्दै गुरागाईंले यसलाई पाठशालाको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो।
नगर उपप्रमुख समिता श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यक्तिगत तथा सामूहिक रूपमा व्यावसायिक कृषि उत्पादनमा लाग्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। उहाँले महिलाहरूको सक्रिय सहभागिता र आत्मविश्वास अभिवृद्धिले कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “तालिम लिएर मात्रै हुँदैन, यहाँ सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्छ। समूह र व्यक्तिगत दुवै रूपमा व्यावसायिक खेती गरेर आर्थिक रूपमा अगाडि बढ्न सकिन्छ।”
उपप्रमुख श्रेष्ठले एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति अपनाउँदै विषादीको प्रयोग घटाउन, स्वस्थ तथा गुणस्तरीय कृषि उपज उत्पादन गर्न र उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। कृषि तथा पशुपालनसम्बन्धी प्राविधिक सहयोगका लागि नगरपालिका तयार रहेको उल्लेख गर्दै उहाँले कृषक समूहलाई पारदर्शी हिसाबकिताब राख्न र योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिनुभयो।
#१.४ रोपनीमा ७५० केजी काउली उत्पादन#
धाराभञ्ज्याङ तामाङ महिला कृषक समूहकी उपाध्यक्ष ममता ग्लानले १६ हप्ते कृषक पाठशालाबाट प्राविधिक सीपसँगै आत्मविश्वास र सामूहिक रूपमा काम गर्ने क्षमता प्राप्त गरेको बताउनुभयो।
उहाँका अनुसार तालिमका क्रममा वैज्ञानिक विधिबाट नर्सरी तयार गर्ने, स्वस्थ बेर्ना उत्पादन गर्ने, उचित दूरीमा बिरुवा रोप्ने तथा बालीको नियमित अवलोकन र व्यवस्थापन गर्ने अभ्यास गरिएको थियो। समूहका सदस्यहरूले चारवटा उपसमूह बनाएर खेतबारीलाई आठ प्लटमा विभाजन गरी परम्परागत र आइपिएम विधिबाट काउली खेतीको अभ्यास गरेका थिए।
ग्लानले खेतबारीमा पाइने मित्र र शत्रु कीराको पहिचान तथा जैविक विधिबाट शत्रु कीरा नियन्त्रण गर्ने सीप सिकेको बताउनुभयो। गाईको गोमूत्र, गोबर, तितेपाती, निम, बकाइनो, असुरो, लसुन र खुर्सानीजस्ता स्थानीय स्रोतसाधन प्रयोग गरी झोलमल तथा जैविक विषादी तयार पारेर प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो।
“रासायनिक विषादीको प्रयोग घटाएर गाउँघरमै उपलब्ध हुने सामग्रीबाट जैविक विषादी बनाउन सकिने रहेछ। यसले उत्पादन लागत घटाउनुका साथै स्वस्थ र सुरक्षित तरकारी उत्पादन गर्न सहयोग पुग्ने अनुभव गरेका छौँ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार समूहले १.४ रोपनी क्षेत्रफलमा करिब ७५० केजी काउली उत्पादन गरेको छ। उत्पादित काउली औसत प्रतिकेजी ५० रुपैयाँका दरले मूल्याङ्कन गर्दा करिब ३७ हजार ५०० रुपैयाँ बराबरको उत्पादन भएको छ।
“यो १६ हप्ते यात्राले हामीलाई खेती गर्ने प्राविधिक ज्ञान मात्र दिएको छैन, आत्मविश्वास, नेतृत्व क्षमता र सामूहिक रूपमा काम गर्ने शक्ति पनि दिएको छ,” ग्लानले भन्नुभयो।
उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नै बारीमा निरन्तर प्रयोग गर्नुका साथै छिमेकी तथा समुदायका अन्य कृषकलाई पनि जैविक तथा सुरक्षित खेती प्रणाली अपनाउन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
# अध्यक्ष लामाको सुझाव : तीनदेखि पाँच वर्षको योजना बनाएर अघि बढौँ #
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामाले कृषक पाठशालालाई अन्तिम उपलब्धिका रूपमा नभई कृषि क्षेत्रमा थप काम गर्ने सुरुवातका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले कृषक समूहले तीनदेखि पाँच वर्षसम्मको योजना बनाएर सामूहिक कृषि उत्पादनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “यो तालिम अन्त्य होइन, सुरुवात हो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई निरन्तर प्रयोग गर्दै समूहले तीनदेखि पाँच वर्षसम्मको योजना बनाएर अघि बढ्नुपर्छ।”
उत्पादित कृषि उपजको बिक्री तथा बजारीकरणका लागि डिजिटल माध्यमको प्रयोग गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष लामाले जलवायु परिवर्तनको असर आदिवासी जनजाति तथा तामाङ समुदायमा समेत गम्भीर रूपमा परेको बताउनुभयो।
जलवायु परिवर्तनबाट प्रभावित समुदायका समस्या र आवाजलाई स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनुपर्ने उहाँको भनाइ थियो। उहाँले जलवायु अनुकूलनका कार्यक्रमलाई स्थानीय सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने र प्रभावित समुदायले न्याय तथा क्षतिपूर्तिका लागि आवाज उठाउनुपर्ने बताउनुभयो।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजनामा २०८३ साउन २ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालन भएको पाठशालामा सीतादेवी गुरागाईंले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा कृषक समूहका सदस्य, जनप्रतिनिधि, कृषि शाखाका कर्मचारी तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने स्थानीय तामाङ संस्कृति झल्कने गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता ममता घ्लानले गर्नुभएको थियो ।

नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस