किसानको आयआर्जन बढाउन पशु स्वास्थ्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ : नगरप्रमुख रमेश नापित
काठमाडौं, २०८३ असोज २१ गते ।
शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितले नगरको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ । पशुपालन क्षेत्रको विकाससँगै किसानको आयआर्जन बढाउन र पशु स्वास्थ्य सेवामा सहज पहुँच पुर्याँउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
“शंखरापुरमा पशु स्वास्थ्यका क्षेत्रमा प्रभावकारी काम भएको छ । शंखरापुरको आर्थिक समृद्धिको आधार कृषि र पशुपालन भएकाले कृषकहरूको हितमा नगरपालिका सधैँ प्रतिबद्ध छ,” नगरप्रमुख नापितले भन्नुभयो ।
नगरपालिकाको पशु विकास उपशाखाले गत आर्थिक वर्षमा पशुपन्छी उपचार, रोग नियन्त्रण, कृत्रिम गर्भाधान, दूध उत्पादन प्रोत्साहन, पशु बीमा, घुम्ती तथा घरदैलो सेवा लगायतका कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार पशुपन्छी उपचार सेवाबाट १३ हजार ५ सय ३७ जना कृषक लाभान्वित भएका छन् ।

पशुपन्छीमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि नगरपालिकाले विभिन्न चरणमा खोप कार्यक्रम सञ्चालन गरेको पशु शाखा प्रमुख टंकबहादुर कटुवालले जानकारी दिनुभयो ।
नगरपालिकाले खोरेत तथा लम्पी स्किन रोगविरुद्धको खोप कार्यक्रमसँगै पीपीआरविरुद्ध पनि खोप खोप कार्यक्रमबाट १० हजार ५ सय ३९ घरधुरी लाभान्वित भएका छन् ।
नगरपालिकाले पशुपालनलाई व्यावसायिक बनाउने उद्देश्यले गाई–भैंसीमा कृत्रिम गर्भाधान सेवासमेत विस्तार गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा १ हजार ८ सय ६० गाई र ८२ भैंसीमा कृत्रिम गर्भाधान गरिएको छ । यसका लागि ५ सय ६० लिटर तरल नाइट्रोजन प्रयोग भएको छ । कृत्रिम गर्भाधान कार्यक्रम मार्फत ६ जनाले मौसमी रोजगारीसमेत पाएका छन् ।
त्यस्तै, नगरपालिकाले बेवारिसे पशु व्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ । गत आवमा ५२ वटा मृत सडक कुकुरको व्यवस्थापन गरिएको छ भने १ सय ४१ वटा बेवारिसे गाई तथा बाच्छाबाच्छीको उद्धार तथा व्यवस्थापन गरिएको नगरापलिकाको तथ्याङ्कले देखाउँछ ।
पशुपालक किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी नगरपालिकाले दूध उत्पादन प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यसका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । नगरपालिकाका १२ वटा सहकारीमार्फत ६ सय ८ जना किसान कार्यक्रमसँग जोडिएका थिए भने ५ सय ६५ जना दुध किसानले अनुदान प्राप्त गरेका छन् ।
कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर १ रुपैयाँ ५७ पैसा र सहकारीलाई प्रतिलिटर १० पैसा अनुदान उपलब्ध गराइएको छ । किसानतर्फ ३१ लाख ६३ हजार ४ सय ८३ रुपैयाँ र सहकारीतर्फ २ लाख १० हजार १ सय ५० रुपैयाँ अनुदान वितरण गरिएको छ । उक्त अवधिमा सहकारीमार्फत २१ लाख १ हजार ५ सय ३ लिटर दूधको कारोबार भएको थियो । नगरपालिकाले पशु बीमा तथा बीमा दाबी भुक्तानीका लागि सिफारिस गर्ने कामलाई पनि निरन्तरता दिएको छ । आर्थिक वर्षमा ३ सय ९८ वटा बीमा दाबी तथा भुक्तानीसम्बन्धी सिफारिस गरिएको नगरप्रमुख रमेश नापितले नयाँ पोष्टलाई जानकारी दिनुभयो ।

यसैगरी, पशुपन्छीसम्बन्धी सेवा किसानको घरदैलोसम्म पुर्याउँन घुम्ती तथा घरदैलो सेवा सञ्चालन गरिएको थियो । यस्तो सेवाबाट १ सय ४० घरधुरी लाभान्वित भएका छन । नगरपालिकाले पशु रोगको निगरानी तथा महामारीसम्बन्धी विवरण संकलन र रिपोर्टिङ, बर्डफ्लु नियन्त्रणका लागि सहयोग तथा प्राथमिक पशु प्रयोगशाला सेवा सञ्चालनलाई पनि निरन्तरता दिएको नगरप्रमुख रमेश नापितले नयाँ पोष्टलाई जानकारी दिनुभयो ।
नगरप्रमुख नापितले कृषि तथा पशुपालनलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा नभई नगरको आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । किसानलाई आवश्यक प्राविधिक सेवा, उपचार, खोप, कृत्रिम गर्भाधान तथा उत्पादनमा आधारित प्रोत्साहन उपलब्ध गराउँदै पशुपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउनेतर्फ नगरपालिका केन्द्रित रहेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८२/८३ का विभिन्न पशु विकास कार्यक्रमबाट उपचार सेवा, पशु खोप, घरदैलो सेवा, नगद अनुदान, मौसमी रोजगारी तथा विभिन्न सिफारिस सेवामार्फत ठूलो संख्यामा किसान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस