Image description

सरोज ढकाल /नयाँपोष्ट संवाददाता 

शंखरापुर नगरप्रमुख रमेश नापितले भगवान गौतम बुद्धले दिएका शान्तिका सन्देशहरु आजका दिनमा पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण रहेको बताएका छन् । 
मंगलबार काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ६ को इपाटोलमा गरिएको महान कथिन चिवरदान समारोह–२०८० कार्यक्रमलाई संवोधन गर्दै मेयर नापितले नेपालमा जन्मिएर विश्वभरी नै बुद्धले शान्तिको सन्देश फैलाउने काम गरेको स्मरण गराउँदै बुद्धले दिएको ज्ञानलाई जिवन्त राख्दै देशलाई शान्तिको बाटोमा लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताए । 


उनले भने–‘बुद्धले देखाएको ज्ञानको पथमा लागेर तपाईहरुले जुन पुण्यको काम गरिरहनु भएको छ, देशमा शान्ति कायम गर्न बुद्धले देखाएको बाटोमा  हिँडाउन शान्ति र ज्ञानगुनका कुरा सिकाउने यो कार्यक्रम अत्यन्तै राम्रो छ । राजदरबारको सुख सयलमा बसेका राजाको छोरा जस्तो मान्छे दरबार छोडेर जंगलमा रुखमुनी तपस्या गरेर बुद्धत्व प्राप्त गरेपछि नेपाललाई शान्ति भूमी भनेर विश्वलाई चिनाउँने काम गर्नुभयो त्यो हाम्रा लागि गौरवको कुरा हो । बुद्ध जन्मिएको, सीता माता जन्मिएको देशमा आज हाम्रो मौलिक धर्म मास्ने काम भइरहेको छ, त्यो नहोस भन्नका लागि बुद्धले हिजो दिएका शान्तिका सन्देशहरु आजपनि उत्तिकै सान्र्दभिक र महत्वपूर्ण रहेको छ ।’
भिक्षूहरुलाई चिवरदानको काम अत्यन्तै पूण्यको काम भएको बताउँदै मेयर नापितले यस्ता कार्यक्रमहरुले नेपालको मौलिक धर्म संस्कृति संरक्षणका लागि महत्वपूर्ण भूमिका रहने बताए । उनले बुद्धशिक्षा प्रवद्र्धन गर्नका लागि महाविहारहरुको भूमिकाको प्रशंसा गरे । 


उनले साँखुमा रहेको मणिच्यूड जन्मभूमी महाविहारलाई सहयोगका लागि नगरपालिकाको तर्फबाट २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गरे । 
३ महिना बर्षाबास बस्ने भिक्षुहरुका लागि मणिच्यूड जन्मभूमी महाविहारको आयोजनामा चिवरदानको कार्यक्रम गरिएको हो । सो अवसरमा विभिन्न महाविहारबाट आएका १२० जना भन्तेहरुलाई चिवरदान गरिएको छ । यस्तै ३२ जनाले भन्तेहरुलाई अष्टपरिकार दान गरेका छन् । चिवरदान अघि साँखुको इपाटोल हुँदै महादेवस्थान, शाल्खाटोल, चलाखुटोल, भौढोका हुँदै इपाटोलसम्म नगरपरिक्रमा गरिएको थियो । 
सो अवसरमा नगरप्रमुख रमेश नापित, वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा सदस्य ज्ञानरत्न मानन्धर, मणिच्यूड जन्मभूमी महाविहारकी गूरुमा दयालक्ष्मी बज्राचार्य, लगायत विभिन्न भन्तेहरु, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।